Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

विद्युतको राष्ट्रिय प्रसारण प्रणालीमा डोल्पा जोडियो


काठमाडौं । कर्णालीको डोल्पा जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली (ग्रीड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोटको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्‍याइएको छ ।

प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीबारबाट सञ्चालनमा ल्याई सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका १० मध्ये आठ जिल्ला राष्ट्रिय ग्रीडमा जोडिएका छन् ।

अब हुम्ला र मुगुमा ग्रीडको विद्युत् पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रीडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।

‘डोल्पामा राष्ट्रिय ग्रीड पुगेको छ, मुगुमा असारभित्रमा पुग्नेछ, हुम्लाका लागि टेण्डरको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनौट भइसकेको छ, अब छिट्टै काम सुरु हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रहरूमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत विद्युत् आपूर्ति दिइरहेको छ । डोल्पामा प्राधिकरणका करिब एक हजार ७०० ग्राहकहरू छन् । डोल्पाका अन्य क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत आपूर्ति भइरहेको छ ।

 


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट