Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अवरुद्ध पृथ्वी राजमार्ग अझै खुल्न सकेन, यात्रुले गाडीमै बसेर रात बिताए


काठमाडौं । सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अवरुद्ध पृथ्वी राजमार्ग अझै सुचारु भएको छैन । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प छ । हिजो बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको सडक प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । उनका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ । अबको दुई–तीन घण्टामा सडक खुलाउने गरी काम भइरहेको छ ।

पछिल्लो जानकारी अनुसार दुई÷तीन घण्टामा सकेसम्म दुईतर्फी नभए एकतर्फी भए पनि सडक खुलाउने गरी काम भइरहेको छ । साँघुरो ठाउँ भएकाले उपकरण र जनशक्ति भए पनि सडक खुलाउन समय लागेको छ । भासिएको सडकमा माटो भर्ने लगायतका काम भइरहेको छ ।

हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रुको भने बिचल्ली भएको छ । लामो दूरीका गाडी चल्ने मुख्य राजमार्ग भएकाले लामो दूरीका यात्रु अलपत्र परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएका प्रहरीले जनाएको छ । ‘हामीले उहाँहरुलाई परेका अप्ठ्याराका विषयमा जानकारी र सोधीखोजी त गर्ने प्रयास गर्यौँ तर पनि सबै समस्या समाधान गर्न सम्भव हुने भएन, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई अलि बढी गाह्रो भएको पायौँ’ – प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले भने।

उनका अनुसार अबको केही घण्टापछि सडक खुले पनि आज दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । काठमाण्डौबाट रातको समयमा छुट्ने मालवाहक गाडीको लाइन कलङ्कीसम्म नै छ ।

पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्छन् । सडक भासिएपछि प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाडौं भित्रने र काठमाडौंबाट बाहिरिने साना ठूला गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

हेटौँडा काठमाडौं र काठमाडौं नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोका रुपमा लिन सकिन्छ । प्रहरीका अनुसार धादिङ, नुवाकोट र रसुवाबाट काठमाडौं भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट