Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सगरमाथामा सङ्कलित २ सय ५० किलो फोहोर नाम्चे झारियो


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट दुई सय ५० किलो फोहोर सोलुखुम्बुको नाम्चे झारिएको छ ।

नेपाली सेनाको हिमाल सफाइ अभियान टोलीले सङ्कलन गरेको दुई सय ५० किलो फोहोर सोमवार नाम्चे झारिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनका अनुसार नेपाली सेनाले क्याम्प एकसम्म सङ्कलन गरेको टेन्ट, बोतल, प्लास्टिक, आल्मुनियम लगायतका फोहोर हेलिकप्टरबाट नाम्चे ल्याएको हो ।

नाम्चेमा रहेको ब्यारेकमा राखिएको फोहोर जल्ने र नजल्ने छुट्याएर जल्ने फोहोर एसपीसीसीको जिम्मा लगाइने र नजल्ने फोहोर हेलिकप्टरबाट काठमाडौं लैजाने सेनाले जनाएको छ । सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १३ जनाको तालिम प्राप्त टोली गएको चैत १७ गतेदेखि सगरमाथा सफाइ अभियानमा खटिएका छन् । जेठ १४ गते सम्म चल्ने अभियानमा झन्डै चार हजार किलो फोहोर सङ्कलन गर्ने सेनाले लक्ष्य लिएको एसपीसीसीले जनाएको छ ।

सगरमाथासहित ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइका लागि सेना खटिएको छ । सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य सञ्चालन हुने ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत २०७९ चैत १४ गते प्रधान सेनापति प्रभुराम शर्माबाट फ्ल्याग अफ सेरोमोनी हस्तान्तरण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई कम गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

 


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट