Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

इच्छाराज तामाङको हाउजिङका घर बैंकले लिलामीमा राख्यो


काठमाडौं । ऋण लिएर भुक्तानी नगरेपछि बैंकले इच्छाराज तामाङको हाउजिङका घरहरु लिलामीमा राखेको छ। तत्कालिन सेञ्चुरी कमर्सियल बैंकसँग ऋण लिएका उनले खरिदकर्तासँग पैसा लिएर पनि घर पास गरिदिएका थिएनन्।

अहिले सेञ्चुरीलाई प्रभु बैंकले गाभेको छ। प्रभु बैंकले सितापाइलाभन्दा मास्तिर रहेको कोट्से भैरव हाउजिङ एण्ड डेभलपर्स प्रालिका घरहरु लिलामीमा राखेका हुन्।

इच्छाराज तामाङ सहकारीको पैसा डुबाएको अभियोगमा जेलमा छन्। उनीमाथि अन्य ठगीको मुद्दा पनि लागेको छ।

संविधानसभाको तत्कालिन सदस्यसमेत रहेका तामाङ एमाले निकट हुन्। उनले आफ्नो शक्तिको आडमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल राष्ट्र बैंक ऐनको संशोधन आफू अनुकूल बनाउने प्रयास गरेका थिए।

कम्पनीको सञ्चालक तथा जमानीकर्ता इच्छाराजका साथै केशवलाल श्रेष्ठ पनि छन्। उनीहरुले घर बिक्री गर्न राख्‍ने, खरिदकर्तासँग पैसा पनि उठाउने तर घर पास नगरिदिने गरेका थिए। खरिदकर्तासँग उठाएको पैसा आफैँ प्रयोग गर्ने, बैंकको ऋण भुक्तानी नगर्ने गरेका थिए।

कोट्सेको संस्थागत जमानीकर्तामा सिभिल होम्स प्रालि पनि छ। सिभिल होम्समा पनि इच्छाराजले घरधनीलाई घर पास नगरिदिने रवैया अपनाएका थिए।

स्रोतका अनुसार कोट्सेबाट लिएको ऋणमध्ये अब १५ करोड रुपैयाँ हाराहारी भुक्तानी गर्न बाँकी छ। लामो समयदेखि भुक्तानी नभएका कारण बैंकले सात दिने सूचना जारी गर्दै लिलाम प्रक्रिया अगाडि बढाएको हो।

बैंकले १९ वटा घडेरी र त्यहाँ बनेका घर लिलामीको प्रक्रिया अगाडि बढाएको छ। यसमध्ये सात वटा घर बिक्री हुँदा बैंकको पैसा पुरै उठ्छ।

‘हामीले नै बैंकलाई भनेर लिलामी प्रक्रिया अगाडि बढाउन लगाएका हौं। बैंकले लिलामी गरेपछि हामी त्यसलाई सकार्छौं’, इच्छाराजलाई पैसा बुझाए पनि आफ्नो नाममा घर पास नगरिएका एक पीडितले भने, ‘१९ वटा जग्गामध्ये सात वटामा घर निर्माण भएको छ।’

सात वटै घर किन्नका लागि खरिदकर्ताले केही पैसा इच्छाराज तामाङलाई बुझाएका थिए। कोट्सेको स्वामित्वमा रहेको चालु सम्पत्ति उपर हाइपोथिकेसन सुरक्षण पनि छ। त्यो पनि लिलाम गर्न लागिएको हो।

कम्पनीले बैंक ऋणबाट सवारी साधन पनि खरिद गरेको थियो। ती सवारी साधन बैंकको नाममा आएपनि इच्छाराजकै कम्पनी सदस्यहरुले चलाइरहेका छन्। ती सवारी बुझाउन पनि बैंकले भनेको छ।

उनीहरुले एउटा जेसीबी, टाटा योद्धा, आइ(२० र महिन्द्राको गाडी चलाइरहेका छन्।

इच्छाराजले दुई वर्ष लगाएर बनाएको साम्राज्य उनको ठगी गर्ने नियतका कारण ढलेको हो। उनले बैंक तथा वित्तीय संस्थाको ऋण पनि दुरुपयोग गरेका थिए।

वित्तीय संकटबाट उम्किन उनले श्रीमतीको नाममा रहेको सिभिल बैंक ९अहिले हिमालयन बैंकसँग मर्ज भइसक्यो०को संस्थापक सेयर बिक्री गरेका थिए। उनले सुन्धारास्थित होटलमा रुपान्तरण गरिएको अपार्टमेन्ट पनि बिक्री गरेका थिए।

उनले १ अर्ब ३० करोड रुपैयाँमा ‘प्राइम प्रोपर्टी’ बिक्री गरेका थिए। अजयराज सुमार्गीले उनको सम्पत्ति खरिद गरेका थिए।

तामाङ सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट चलाएको ऋण भुक्तानी गर्न नसकेर आर्थिक संकटमा परेका थिए। उनीमाथि करिब एक हजार जनाले प्रहरीमा उजुरी दिएका थिए।

तामाङले सिभिल सहकारीको निक्षेप सदस्‍यका हैसियतमा एक व्यक्तिले लिन पाउने कर्जाको अधिकतम सीमालाई लत्याएर मुख्यगरी आफ्‍ना चार रियल इस्टेट कम्पनी ९सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्ट र सिभिल बिजनेस कम्प्लेक्स०मार्फत घरजग्गामा हाल्न र बैंक ऋणको किस्ता तिर्न प्रयोग गर्न थालेका थिए। त्यसरी आफ्नो कम्पनीमा सहकारीको निक्षेप चलाएकाले उनको समस्या सुरु भएको थियो।

उनले सिभिल सहकारीका निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा बढी रकम नियमविपरीत कर्जाका रूपमा लिएर संगठित रूपमा ठगी गरेका थिए। विभिन्न बैंक र सिभिल सहकारी समेतको गरी कुल ८ अर्ब ६७ करोड रुपैयाँमाथि उनले दुरुपयोग गरेका थिए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट