Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

डडेलधुरामा हैजा उपचारमा ढिलाइ, एक बालिकाको मृत्यु


काठमाडौं । डडेलधुरामा हैजा देखिएको छ । डडेलधुराको परशुराम नगरपालिकामा हैजा भेटिएको हो।

परशुराम नगरपालिकामा झाडापखाला फैलिए पछि गरिएको नमुना परीक्षणमा एक जना बिरामीलाई हैजा भएको देखिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । उनका अनुसार गएको वैशाखको अन्तिम हप्ता त्यहाँ झाडापखाला फैलिएको थियो ।

एक सय ५० जनाभन्दा धेरै बिरामी परेका थिए । झाडापखालाका कारण १४ वर्षकी सङ्गीता धामीको ज्यान समेत गएको थियो । उपचारमा ढिलाइ गर्दा बालिकाको ज्यान गएको हो । शरीरमा पानीको मात्रा निकै कम भएकाले बालिकाको ज्यान गएको डाक्टरले बताएका छन् । अहिले भने झाडापखाला नियन्त्रणमा आएको छ । तर, हैजासमेत देखिएकाले जोखिम उस्तै छ । प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्य इकाईको टोली निगरानीमा खटिएका छन् ।

टोलीले केही दिन त्यहीँ बसेर काम गर्ने प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए । दूषित पानीका कारण परशुराम नगरपालिकामा झाडापखाला फैलिएको पाइएको छ । झाडापखाला फैलिएपछि स्थानीय बासिन्दाले पिउने पानीको नमुना परीक्षण गरिएको थियो ।

नमुना परीक्षणमा पानीको स्रोत नै दूषित रहेको पाइएको न्यौपानेले जानकारी दिए । उनका अनुसार अहिले पानीलाई शुद्धीकरण गर्ने विभिन्न उपाय अपनाइएको छ । पानी उमालेर मात्र पिउन आग्रह गरिएको छ भने पानी शुद्धीकरण गर्न घर घरमा पीयूषलगायत औषधि वितरण गरिएको पनि उनले बताए ।

गर्मीमौसममा झाडापखाला, हैजा जस्ता रोग फैलिने सम्भावना धेरै हुने भएकाले खानपान र सरसफाइमा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट