Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बनिनसक्दै भाँचियो साढे ४ करोड रुपैयाँमा ठेक्का लागेको पुल


काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१२ नागबेलीको झिकु खोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् ।

छ वर्षअघि चन्द्रा एन्ड वसन्त एनएम जेभीले चार करोड ५० लाख रुपैयाँमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो । स्थानीयले पुल निर्माणमा ढिलाइ गरी अलपत्र तथा लापर्बाहीका कारण खेतमा बाढी पस्दा हजारौँ रोपनी डुबानमा परेको र क्षतिपूर्तिसमेतको माग गर्न थालेका छन् । निर्माण पक्षले बीचबाट चर्किएर भाँचिएको त्यो पुल प्लास्टरमार्फत टाल्न खोजिएको प्रष्ट देखिन्छ ।

४० मिटर लम्बाइको पुल भाँचिएपछि आज मङ्गलवार स्थलगत निरीक्षण गर्नुभएका पाँचखालका मेयर महेश खरेलले पुल पूरै भत्काएर पुनः बनाउनुपर्ने देखिएको बताए । ‘भाँचिएर जीर्ण बनेको पुलमा भोलि जनधनको क्षति हुने भएकाले पनि प्राविधिकको सल्लाहबमोजिम पुलको पुनःनिर्माण हुनुपर्छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार ‘टालटुल’ले पुल यथास्थितिमा राख्न नमिल्ने अवस्थामा छ ।

समयमै पुल नबन्दा स्थानीयले निकै समस्या भोग्नुपरेको १२ नम्बरका वडाध्यक्ष ज्ञानबहादुर दनुवारले बताए । उनका अनुसार वर्षायाममा नजिकैको आजाद माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी तथा त्यस भेगमा उत्पादन भएको तरकारी बजार लैजान समस्या छ । ‘बल्ल बनेको पुल बीच भागमा भाँच्चिएपछि स्थानीय झन् चिन्तित बनेका छन्’, दनुवारले भने ।

गणेश दनुवारले बाढीकै खोलामा एकतर्फी पुलको ढलान गरिएको भागले पानीको बहाव त्यहाँ ठोक्किएर बर्सेनि स्थानीयको खेत नै बगाएको बताए । पुल निर्माण सम्पन्न भएपछि पाँचखालका स्थानीयसँगै तेमाल र चौँरी देउराली गाउँपालिका तथा रामेछापको केही पालिकामा जान निकै सहजता हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट