Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशका प्रमुख शहरहरुमा रगतको अभाव, रक्तदान गर्न आग्रह


काठमाडौं । देशका प्रमुख शहरहरुमा रगतको अभाव हुन थालेको छ । काठमाडौं, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो ।

नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ ।

केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएको छ । अन्य रगत भने विभिन्न अस्पतालमा खोलिएका ब्लड बैंक तथा सङ्घसंस्थाहरुले वितरण गर्ने गरेका उनले बताए । तर, रक्तदान कार्यक्रम नियमित नहुँदा समस्या भएको उनको भनाइ छ ।

रक्तदाताको अभावमा सङ्घ संस्था तथा क्लबहरुले पनि कार्यक्रम गर्ने क्रम घटेको छ । आफूले रगत दान गरे पनि आफूलाई चाहिएको बेला रगत नपाउने समस्यालगायतका कारण कतिपय रक्तदाताले रगत दानलाई नियमित गर्ने गरेका छैनन् ।

रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । रगत अभाव भएपछि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले रगत दानलाई नियमित गरिदिन आग्रह गरेका छन् ।

रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट