Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

फेवाताल किनारमा रहेको ‘राजदरबार’ सर्वसाधारणका लागि खुला


पोखरा, १५ जेठ । फेवाताल किनारमा रहेको रत्न मन्दिर (राजदरबार) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खुला गरेका हुन्।

राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा २०१३ सालमा रत्नमन्दिर बनाएका थिए । २०६४ सालमा गणतन्त्र आएसँगै दरबार नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । नेपाल ट्रस्टको स्वामित्वमा आएको दरबारलाई शाहवंशीय राजाको इतिहास अध्ययन केन्द्रको साथै जैविक विविधता पार्कको रुपमा विकास गरी खुला गर्न पोखराका पर्यटन व्यवसायीले माग गर्दै आएका थिए ।

रत्नमन्दिर सर्वसाधारणका लागि आजदेखि खुला भएको नेपाल ट्रस्टका प्रवक्ता दिपकराज नेपालले जानकारी दिए । रत्न मन्दिर परिसरको २८ रोपनी क्षेत्रको अवलोकनका लागि मात्र दरबार खुला गरिएको हो। दरबारभित्र अवलोकनका लागि व्यवस्थित गर्न साँगुरो संरचनाका कारण अप्ठ्यारो पर्ने भएकाले दरबारभित्र अवलोकन गर्ने सहज वातावरण बनाउन भने केही समय लाग्ने बताइएको छ ।

रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई एक हजार, नेपालीलाई १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिने गरी तयारी गरिएको प्रवक्ता नेपालले बताए । तत्कालीन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे ।

चारैतिर पर्खालले घेरिएको राजा बस्ने दरबार पर्यटकका लागि मात्र होइन स्थानीयका लागि पनि कौतुहल विषय बन्दै आएको छ । २०१३ सालमा निमार्ण पुरा भएको रत्नमन्दिर एक सय ७४ रोपनी क्षेत्रफलमा रहेको छ । रत्नमन्दिर परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षण रहेको छ ।

बंगलामा ११ कोठा रहेका छन् । त्यससँगै राजा पोखरा आउँदा दैनिक रुपमा कामकाज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैचा रहेका छन् । तालको किनारमा रहेको दरबार आकर्षक छ । चराचुरुङ्गीको चिरवीर आवाज र फेवातालको मनोरम दृश्य त्यहाँ पुग्ने जोकोहिलाई पनि लोभ्याउँछ ।

रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएसँगै पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्बिने पोखरा पर्यटन परिषदका सचिव हरि भुजेलले सुनाए । पोखरा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकले ताल किनारको राजदरबार कस्तो छ भन्ने जिज्ञासा राख्ने गर्छन् । दरबार खुला भएसँगै पर्खालले घेरिएर रहेको राजा बस्ने दरबार कस्तो छ भन्ने जिज्ञासा मेटिने स्थानीय अनिल थापाले बताए ।

रत्न मन्दिरमा ४१ वर्ष जागीर खाएर रिटायर जीवन बिताइरहेकी ८२ वर्षीय प्रताप कुमारी अधिकारी राजा बस्ने दरबार कस्तो होला भन्ने जिज्ञा सबैमा भएपनि दरबार सामान्य रहेको बताउँछिन् । दरबारका कोठा साँगुरा रहेको र खाट,बेड विस्तारा पनि समान्य रहेको उनले सुनाइन् ।

राजा महेन्द्र,राजा वीरेन्द्र दरबार आउने वित्तिकै सबैलाई सन्चो बिसन्चो के कस्तो छ भनेर सोध्ने गरेको अधिकारीले सम्झिइन् । राजा मेहेन्द्र, राजा विरेन्द्र सारै दयालु रहेको पनि अधिकारीले बताइन् । रत्न मन्दिर दरबार नजिकै घर भएकी अधिकारी दरबार हत्या काण्डपछि रत्नमन्दिर जान मननै नलागेको बताइन् ।

 


क्याटेगोरी : जनमञ्च, पर्यटन, समाचार, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट