Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढामगरलाई माओवादी केन्द्रको सम्मान


काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

मङ्गलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका ह्ुन् । त्यस अवसरमा महराले अपाङ्गता भएका व्यक्तिहरूको टिम नै बनाएर विश्वव्यापी रूपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष महराले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिसनको सफलताको पनि कामना गरे । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरे ।

‘‘उहाँहरू एउटा ठुलो शान्तिको मिसनमा हुनुहुन्छ । अपाङ्ग भएका व्यक्तिहरू खोजेर एउटा टिम बनाएर विश्वव्यापी रूपमा शान्तिको अभियान छेडन चाहनु हुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैँ पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिसनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु ।,’’ उपाध्यक्ष महराले भने, ‘‘म यो प्रतिबद्धता पनि यहाँहरूलाई भन्न चाहन्छु । यसमा धेरै भन्नु छैन । उहाँको जीवन, उहाँले खुट्टा गुमाउनु भएतापनि उहाँले साहस गुमाउनु भएको छैन । र केही लक्ष्य पूरा गर्ने, केही समय उहाँ अलि रुमलिनु भयो । तर बाँकी जीवन थप साहसपूर्वक अगाडि बढ्ने र मिसन पूरा गर्ने उहाँको लक्ष्य छ । त्यो पूरा होस् । हाम्रो शुभकामना कार्यक्रमलाई स्वीकार गरिदिनु भएकोमा उहाँलाई धन्यवाद ।’’

यसैगरी, कार्यक्रममा बोल्दै बुढामगरले अपाङ्गताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए । उनले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि भनाइ व्यक्त गरे ।


क्याटेगोरी : पर्यटन, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट