Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

थुनछेक बहसका लागि टोपबहादुर र बालकृष्णलाई अदालत लगियो


काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा आरोपीहरूलाई उपस्थित गराइएको हो। काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस सुरू हुन लागेको हो। सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने(नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौ‍ँ जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।

 


क्याटेगोरी : समाचार
ट्याग : #balkrishna, #top bahadur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट