Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गएराति काठमाडौं उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने


काठमाडौं । गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा लमजुङको खुदी बजारमा १३० मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङकै कुन्सामा १०३ मिलिमिटर, कास्कीको सिक्लेसमा ९३ दशमलव २, लमजुङको गैरीढुंगामा ८५, रैनास्तर ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, बाग्मती प्रदेशको मकवानपुरको दामनमा ७० दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, धादिङ धुनीबेशीमा ७१ दशमलव ४, काठमाडौंको बूढानीलकण्ठ आसपासमा ३६ मिलिमिटर र ललितपुरको लेलेमा ६० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार आज पनि बाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक÷दुई ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम रहेको उनले बताए । तर, पश्चिमी क्षेत्रमा भने तत्काल मनसुनी वर्षाको सम्भावना नरहेको मौसमविद् महर्जनले बताए । उनका अनुसार पश्चिमी क्षेत्रमा अहिले पश्चिमी वायुको प्रभाव धेरै छ । यसकै कारण त्यस क्षेत्रमा मनसुन प्रवेश गर्न एक/दुई दिन लाग्ने मौसमविद्को भनाइ छ । नेपालमा हिजो मनसुन भित्रिएको हो ।

यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएकोे छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट