Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदै


काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ ।

अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले जवाफ दिने र त्यसका लागि १ बजेसम्मको समय तोकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता एवम् जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतमा आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने, जिल्ला महान्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, जिल्ला महान्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला महान्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गर्नेछन् ।

प्रवक्ता घिमिरेले १ बजेअघि नै आफूहरूले बहस सक्ने तयारी गरेको जानकारी दिए । त्यसपछि आजै साँझसम्ममा थुनछेक आदेश आउनसक्ने बताइएको छ । प्राय जवाफी बहस सकिएपछि त्यसै दिन थुनछेक आदेश आउने गरेको छ । आरोपीलाई थुनामा राख्ने की नराख्ने भनेर दिने आदेश नै थुनछेक आदेश हो । प्राय भाग्न सक्ने, प्रमाण नष्ट हुने अवस्था देखिएमा थुनामै राखेर मुद्दा अघि बढाउने आदेश हुने गर्छ ।

उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधामा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताको तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलले बहस गरेका थिए ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायाँको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । त्यसमाथि सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । कैदका साथै रु २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनामा अझै १२ जना फरार छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #nakkali bhutani

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट