Techie IT
  • २२ फागुन २०८०, मंगलबार
Jhilko

नेपालले दियो जिम्बाब्वेलाई दुई सय ९१ को लक्ष्य


जिम्बाब्वे, ३ असार । कुशल भुर्तेलको ९९ रनप्रेरित नेपालले क्रिकेट विश्वकपको ग्लोबल छनोटमा घरेलु टिम जिम्बाब्वेलाई दुई सय ९१ को लक्ष्य दिएको छ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रनको योगपफल तयार गरेको हो । नेपालका लागि आपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाएर बाहिरिए।

वेलिङ्टन मसाकाजादाको बलमा बोल्ड हुँदा कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरको दोस्रो शतक बनाउन एक रनले चुके। कुशलसँग कीर्तिमानी इनिङ खेलेका आसिफ एक सय बलमा सात चौकासहित ६६ रन बनाएर मसाकाजादाको बलमा रायन बर्लको हातबाट क्याच भए।

नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाएका थिए। यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्ध गत फागुनमा एक सय ३९ रनको कीर्तिमान बनाएका थिए।

त्यो कीर्तिमान तोड्दै आसिफ र कुशलले एक सय ७१ रनको नयाँ रेकर्ड बनाए। चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहित २९ बलमा चार चौकासहित ३१ रन बनाएर पभिलियन फर्के। कुशल मल्ल ४२ बलमा दुई चौका र तीन छक्कासहित ४१ रन जोडेर पभिलियन फर्किँदा आरिफ शेख १०, गुल्शन झा १३ तथा भीम सार्की शून्यमा आउट भए।

दीपेन्द्रसिंह ऐरी ६ रन जोडेर पभिलियन आउट हुँदा करण केसी दुई तथा सोमपाल कामी एक रनमा अविजित रहे। बलिङतर्फ जिम्बाब्वेका लागि रिचार्ड एन्गाराभाले ९ ओभरमा ४३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए।

यस्तै, वेलिङ्टन मसाकाजादाले १० ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए। टेन्डाई चताराले सात ओभरमा ५९ रन खर्चेर एक मेडनसहित एक विकेट लिए। ब्लेस्सिङ मुजाराबानीले पनि एक विकेट लिए। ६ महिना अघि आईसीसी विश्वकप क्रिकेट लिग टुमा अविश्वसनीय प्रदर्शन गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले जिम्बावे यात्रा पक्का गरेको थियो।

पाँच वर्ष अघि सन् २०१८ को विश्वकप छनोटमा पनि नेपालले जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो। नेपाल र जिम्बावेबीच भएको त्यो नै एक मात्र एकदिवसीय खेल हो। त्यतिबेला नेपालले एकदिवसीय मान्यता नपाएकाले त्यो खेलले ‘लिस्ट ए’को मान्यता पाएको थियो। उक्त खेलमा नेपाल एक सय १६ रनले पराजित भएको थियो। उक्त खेलमा नेपालका शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपाली टोली दक्षिण अफ्रिकामा डेढ साता तयारी गरेर जिम्बावे पुगेको हो। दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। नेपाल दुवै अभ्यास खेलमा पराजित भएको थियो।

यस्तै जिम्बावेमा पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० लाई नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। छनोट चरणबाट अगाडि बढ्न नेपालले घरेलु टोली जिम्बावेसँगै अर्को टेस्ट राष्ट्र वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिकालाई पराजित गर्नु पर्दछ। नेपालले असार ५ मा अमेरिका, असार ७ मा वेस्टइन्डिज र असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

यस्तै समूह ‘बी’मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। हरेक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर ५ देखि भारतमा हुने विश्वकपमा स्थान बनाउने छन्। सातौंदेखि १०औं स्थानका टोलीले प्लेअफ खेल्ने छन्।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट