क्रोएसियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन नेसन्स लिग च्याम्पियन

काठमाडौं । युइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै स्पेन पहिलो पटक नेसन्स लिगको च्याम्पियन बनेको हो ।
नेदरल्याण्ड्सको रोटरडममा भएको फाइनलको निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । स्पेनका लागि डानी कार्भाजलले विजयी गोल गरे । त्यसअघि स्पेनका गोलकिपर उनाई सिमोनले क्रोएसियाका ब्रुनो पेटकोभिचको पेनाल्टी बचाएका थिए ।
पेनाल्टीसुटआउटमा स्पेनका लागि जोसेलु, रोड्री, मिकेल मोरेनो, मार्को असेन्सियो र कार्भालले गोल गरे । एमरिक लापोर्टाले गोल गर्न सकेनन् ।
क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । लोभ्रो माजे र र पेटकोभिचले गोल गर्न सकेनन् ।
स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलम पहिलो पटक उपाधि जितेको हो । यसअघि स्पेनले २०१२ मा युरो जितेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #football
प्रतिक्रिया