Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतको नेपाली दूतावासको नाम अहिले पनि ‘शाही नेपाली राजदूतावास’ लेखिएको भन्दै सुधार्न आग्रह


काठमाण्डौं, २६ जेठ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले भारतमा रहेको नेपाली दूतावासको नाम अहिले पनि शाही नेपाली राजदूतावास लेखिएको भन्दै नाम सुधार्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको आज बिहीवारको बैठकको शून्य समयमा सांसद देवकोटाले देशमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूतावासको नाम सुधार नभएको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उनले भने, ‘गणतन्त्र आएको लामो समय बितिसक्दा पनि अझै भारतमा रहेको नेपाली राजदूतावासको नाम परिवर्तन नहुनु राम्रो भएन । यस्ता नाम अन्य कुन–कुन देशमा छन् ती सबैको सुधार हुनुपर्छ ।’

सांसद देवकोटाले नक्कली भुटानी शरणार्थीको विषयबारे सत्य–तथ्य सदनलाई जानकारी गराउन माग गरे । उनले फेवाताल संरक्षण, सहकारी क्षेत्रको विकृति रोक्न सहकारी शुद्धीकरण अभियान सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यस्तै बैठकमा सांसद कुमार दसौदीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने व्यवस्था कार्यान्वयन नगर्न माग गर्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद दीपा गुरुङले अस्पतालमा भर्ना भएका बिरामीको कुरुवाका लागि व्यवस्था नभएको सङ्घीय राजधानीका ठूला अस्पतालमासमेत यस्तो व्यवस्था रहेको भन्दै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड निर्देशिकाबमोजिम बिरामी कुरुवा बस्ने व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।


क्याटेगोरी : संसद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट