Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेशमा पहिचानवादीका नाममा भएको अराजक गतिविधिलाई रोक्न सरकार सक्षम छः गृहमन्त्री श्रेष्ठ


काठमाडौं, २६ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा पहिचानवादीका नाममा केही महिनादेखि जारी आन्दोलन राजनीतिक मर्यादाबाहिर गएको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले पहिचानवादीका नाममा भइरहेको उग्र पदर्शनका क्रममा पार्टीका नेता कार्यकर्तामाथि आक्रमण भइरहँदा सरकार मौन बसेको भन्दै जवाफ मागेका थिए।

भट्टराईले जवाफ मागेपछि गृहमन्त्री श्रेष्ठले कुनै पनि अराजक र उदण्ड गतिविधिलाई रोक्न सरकार सक्षम रहेको बताए।

‘प्रदेश १ को नाम कोशी राखिएपछि त्यहाँ पहिचावादी केही समूहले आन्दोलन चलाए। त्यसपछि पनि प्रदेश सभा र प्रदेश मन्त्रालयमा घेराउ गर्ने काम भयो’, श्रेष्ठले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरुलाई जिल्ला भ्रमणमा रोक्ने, आक्रमण प्रयास पनि भएको छ। कोशी प्रदेश लेखिएका ब्यानर र बोर्ड मेट्ने काम भएको छ। त्यस्ता गतिविधि अघि बढ्न नदिन सरकार गम्भीर छ।’

उनले बिहीबार मात्रै एमालेका प्रदेश सांसद राम रानामगरलाई इलाम र एकजना मन्त्री तिलकुमार मेयाङ्बोलाई उदयपुरमा आक्रमण प्रयास भएको भन्दै दुवैजनासँग आफूले सम्पर्क गरिसकेको सुनाए।

‘यही जेठ २५ गते इलाममा सांसद रामबहादुर राना मगर आउनु भएको जानकारी पछि मे२झ ३७३७ नम्बरको गाडीमा चार पाँचजना पहिचान पक्षधर आन्दोलनकारी भन्नेले अवरोध गरेको देखियो’, उनले भने, ‘बाटोमा अवरोध गरेपछि मोबिल गाडीतिर फ्याक्दा पोखिएको छ। माननीयलाई मोसो दलिएको छैन, त्यो गलत हो। प्रहरीले सुरक्षासहित मेची राजमार्ग हुँदै गन्तव्यतिर लगेको छ।’

सांसद मगरले सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकामा प्रसन्नता व्यक्त गरेका पनि उनले बताए। उदयपुरको गाईघाटमा प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री तिलबहादुर मेयाङ्बो र उपसभामुख सिर्जना दनुवार सवार गाडीमा आक्रमण प्रयास भएको पनि बताए।

यसअघि गत वैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली झापासहितका जिल्लामा पुग्दा भएको आक्रमणमा संलग्न केहीलाई पक्राउ गरेर सरकारले मुद्दा चलाएको पनि उनले बताए।


क्याटेगोरी : संसद
ट्याग : #narayan kaji shrestha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट