Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पहिरो खसेपछि सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम रोकियो


सिन्धुली, ७ वैशाख । पहिरो खसेपछि सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम रोकिएको छ । दुई सय घन मिटर माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि तीन साता अघिबाट काम रोकिएको हो ।

सुनकोशी–मरिण डाइभर्सन आयोजनाका अनुसार दायाँबायाँ र माथिबाट पाउडर जस्तो माटो झरेपछि मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाले जनाएको छ । यो पाउडर जस्तो धुलोलाई ‘फिलाइट’ भनिन्छ । सुरुङ खन्ने काम गत असोज २८ गतेबाट सुरु भएको थियो । गत चैत १७ गते सम्ममा ४ हजार ६६९ मिटर सुरुङ खनिएको छ । चुरे रेन्ज कटेर महाभारत क्षेत्रमा प्रवेश गर्न तीन सय मिटर बाँकी हुँदा काम रोकिएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।

यसअघि दुई किलोमिटर सुरुङ खन्दा पनि पुस महिनामा र्नौ दिन काम रोकिएको थियो । धुलोलाई केमिकल प्रयोग गरेर रोक्न खोज्दा समेत नभएपछि अब बाइपासको विकल्प नरहेको आयोजना प्रमुख बरालको भनाइ छ । ‘पहिला हिलो, लेदो माटो र पानी आएर अवरोध गरेपछि त्यसलाई केमिकल प्रयोग गरेर कडा बनाइ निकास खोजेका थियौं,’ उनले भने, ‘अहिले पूरै पाउडर जस्तो माटो खन्दै नखनेको क्षेत्रबाट आएपछि टनेल बोरिङ मेसिन (टीबीएम) अगाडि बढ्न सकेन ।’ अब बाइपासको लागि कन्सल्ट्यान्ट, भूगर्भविद, निर्माण व्यवसायीका प्राविधिक र आयोजनाका प्राविधिक सबै लागि परेर बाइपासको तयार गरी काम भइरहेको उनले बताए ।

सुरुङको काम सबैभन्दा बढी अप्ठेरो रहेको क्षेत्र पार गर्न ३ सय मिटर मात्र बाँकी रहँदा समस्या आएको र अब साता दिनभित्र पुनः खन्न सुरु गर्ने गरी काम भइरहेको आयोजना प्रमुख बरालले जानकारी दिए । मेसिनको अगाडि पुरिएको भागलाई काटेर पुनः कटर जडान गरी बाइपासबाट सुरुङ खन्ने काम गर्ने योजनामा आयोजना लागेको छ । ४ हजार ९ सय मिटर सुरुङ खनेपछि महाभारत रेन्ज भेटिने र थप समस्या नआउने आयोजना प्रमुख बरालको आकलन छ । बाइपास भएर सुरुङ लैजाने कामको लागि अन्तर्राष्ट्रिय विज्ञ समेत झिकाइएको छ ।

१३ दशमलव ३ किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो । महाभारत क्षेत्रमा कटा चट्टान हुने भएकाले समस्या नआउने आयोजनाले जनाएको छ । ‘जमिनमुनिको सबै यसै भन्न त सकिँदैन, तर हामीले महाभारत क्षेत्र प्रवेश भएपछि ठूलो समस्या नआउने आकलन गरेका छौं,’ आयोजनाकै सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमले अर्थ्याए । अहिलेको रोकिएको काम पुनः सुरु भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ । सुरुङ निर्माणमा अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकोमा यो १० महिनाको अवधिमा ४ दशमलव ५ प्रतिशत बढेर १३ दशमलव ८३ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यो आर्थिक वर्षको भौतिक प्रगति ८० प्रतिशत हुने लक्ष्य राखिएकोमा बढेर १२० प्रतिशत पुगेको आयोजनाको दाबी छ । सुनकोशीमा हेडवर्क्स निर्माणको ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले क्याम्प निर्माण सुरु गरेका छन् । उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भइरहेको सिनियर डिभिजनल इन्जिनियर गौतमले बताए ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले काम सुरु गर्दा दैनिक सरदर २५ मिटर र कुनै दिन ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको थियो । सुनकोशी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङले सुनकोशी नदी भेटाउँछ । यो तामाकोशी र सुनकोशी नदीको संगमस्थल त्रिवेणीभन्दा ७ सय मिटर तल पर्छ । आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेको छ । आयोजनाका अनुसार कानढुंग्रीमा सुनकोशी नदीमा १६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ घनमिटर पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट