Techie IT
  • १३ जेठ २०८१, आईतबार
Jhilko

राज्यद्वारा बेपत्ता बनाइएको आफ्नो छोरालाई आमाको मर्मस्पर्शी पत्र


काठमाडौं । ‘नेपालमा संविधानसभाको निर्वाचन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनु पर्छ’ भन्ने मत राखेकै कारण हजारौं नेपाली आमाका होनहार सन्तानहरुलाई तत्कालिन राज्यले हत्या गर्यो भने हजारौंलाई आजसम्म पनि वेपत्ताकै स्थितिमा राखेको छ । तत्कालिन नेकपा माओवादीले उठाएको मुद्धाले आजको नेपाली राजनीतिमा जित्यो फलत नेपालमा गणतन्त्र पनि आयो तर राज्यद्वारा बेपत्ता पारिएका ति योद्धाहरु आज सम्मपनि कहाँ छन् भनेर राज्यले थाहा नदिदा परिवारजनमा अत्यन्त ठुलो पीडा र आक्रोश पैदा भएको छ ।
बर्षौ देखिको सामान्ती सत्ता ढल्यो र नेपालमा गणतन्त्र आएपछि देशैभर सबैका घरमा खुशी आयो । भुमिगत रुपमा राजनैतिक आन्दोलनमा लागेका आफ्ना सन्तानहरु सार्वजनिक भए, घर फर्किए । तर २०५९ असार ३ गते  राज्यद्वारा गिरफ्तार गरी वेपत्ता बनाईएका तत्कालिन प्रभावशालि विद्यार्थी युवा नेता विपिन भण्डारीको स्थिति अझ सम्म पनि सरकारले सार्वजनिक गर्न सकेको छैन । उनै छोराको सम्झनामा भण्डारीकी आमा शान्ता भण्डारीले आज बिहान सामाजिक सन्जालमा छोरालाई सम्वाेधन गरेर एउटा मर्मस्पर्शी पत्र लेखेकी छिन् ।
आज राजधानी स्थित प्रज्ञा भवन कमलादिमा आफ्नो छोरालाई गिरफ्तार गरि वेपता बनाएको दिन पारेर दिनको ठिक १२ः०० बजे एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको भण्डारीका वुवा एकराज भण्डारीले जानकारी दिए।

छोराको सम्झनामा भण्डारी आमाले लेखेकाे मर्मस्पर्शी पत्र;

प्यारो छोरा बिपिन,
मुटु भरिको माया तिमिलाइ !
आज असार ३ । चिलले माउको चल्ला टिपेसरी दुश्मनले पनि मेरो काखबाट त्यसरी नै मेरो मुटुको टुक्रा तिमी लाई जबर्जस्त थुतेर लग्यो ।औंला भाचेर गनि बसे, आज २१ वटा ‘असार ३’ बितेछन् । अत्तोपत्तो छैन।
तिम्रो बिचार र आस्थाको प्रतिनिधिले पनि तिमिलाइ खोज्नु पर्ने दायित्व भुल्यो जस्तो लाग्छ । तिमि र तिमी जस्ता हजारौं योद्धाहरुको के योगदान थियो त्यो पनि बिर्स्यो जस्तो लाग्छ । तर बाबु १ तिमी सधै म सङ्गै हुन्छौं । मेरो मनमा, मेरो मुटुमा सधै सधै ।
यतिखेर तिमि यहाँ भैदिएको भए ४३ का हुन्थ्यौऊ। अरु के के हुन्थ्यौऊ थाह छैन । तर एउटा कुरा पक्का भन्न सक्छु , तिमी नक्कली सरणार्थीको फलामको चुरा अवस्य लाउदैन्थौ होला बरु त्यसको भण्डाफोर गर्थ्यौ होला । एम सि सि को समर्थन हैन, रोक्ने आन्दोलनमा लाग्थौ होला । हसिया हतौडा समुन्द्र पारी आत्मसमर्पण गर्दै बन्धक राख्न पनि जादैन्थ्यौऊ होला । तिमी सधै नेपाल र नेपालीको पक्षमा, उत्पिडितको पक्षमा निरन्तर निरन्तर लागि रहन्थ्यौऊ होला ।
अब कहा भेट होला खै ? हामी तिम्रो बुबा आमाले पनि अब त जेष्ठ नागरिकको परिचयपत्र पाइसक्यौ। कति बा आमाहरु त सन्तान संग भेट होला भन्ने आसै आसमा गै सके । राज्यले हाम्रो कुरा सुन्दैन । नेताहरूको ध्यान खाली सरकार ढाल्ने र बनाउने मा छ ।
युवा पुस्ताले यो कुरा कसरी लेला हेरौं !
तर हामी एक मुठी सास रहुन्जेल तिम्रो सपना पुरा गर्ने बाटोमा निरन्तर अगि बढिरहने प्रण गर्छौं ।
आजलाइ यत्ति । बांकी २२ औं असारमा !
तिम्रो आमा बा ।


क्याटेगोरी : बिचार, राजनीति, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट