Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कृषि कर्म र किसान शक्तिले तोड्नु पर्ने जालो


कृषि कर्म जीवनको विकल्परहीत आधारभूत कर्म हो । जीवन धान्न, स्वस्थ राख्न र चलायमान गराउँनका लागि अक्सिजन र पानी पछि खाद्य पदार्थ नै अति आवश्यक पदार्थमा पर्दछ । खाने कुरा वास्तवमा कुनै कारखानामा बन्ने कुरा होइन । यो कृषि बाहेक अन्य कतैबाट प्राप्त हुँदैन । कृषिले दिने ऊर्जाले नै मानिस लगायत प्राय सबै जीव जगत जीवित छ र उसको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र व्यवहार गरिएको छ । फलतः यसले पाउनु पर्ने, प्राथमिक स्थान, सम्मान र शतत सहयोग पाउनबाट यो कर्म प्रायः बञ्चित जस्तै छ ।

कतै पाएको छ भने पनि त्यो पनि ब्यापारिक र नाफाको एउटा बजारमुखी दृष्टिकोणले मात्र पाएको छ । स्वयम् कृषि र किसानको समग्र हित हुने गरेर कतै पाएको छैन । यस सम्बन्धमा शब्दावली पदावलीहरु जे सुकै प्रयोग गरिएका किन नहुन् ती किसानबाट अलग्गिएका बजारसँग जोडिएका र मुनाफका साधन बन्ने गरी बनाएका जस्ता लाग्दछन् । प्रकृति पछिको यो मानव निर्मित अर्थात्, श्रमजीवी किसानहरुले निर्माण गरेको यो — दोश्रो प्रकृति — खाद्यान्न, पक्वान्न, मिष्टान्न — अन्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रुपमा भए पनि ती प्रचीन, आधुनिक या अत्याधुनिक कल कारखानाका उपज बिल्कुलै होइनन् । तिनलाई दोश्रो प्रकृति–प्रकृतिका अधिशासित नियमहरुको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीबन्त कर्म हुन र मान्नु पर्दछ । जीवनको जीवन्त आधार यो कृषि कर्मको अभावमा अरु जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने बिशाल उद्योगधन्धाहरु नै किन नहुन्, तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ ।ती मृत प्राय बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो । यो सत्य हो ।

तर किसानले आफूलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आफूलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गवार, गाउँले, अशिक्षित रातो दिन झरी बादल, घाम खडेरी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्दछ । त्यस्तै मान्ने बनाइएको छ । उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने शहरबासी, नगरबासीहरुलाई कृषि उपजहरुको आपूर्ति गर्दछ । त्यो अकिञ्चन जमातले आफ्नो कर्म गर्न छोड्यो भने कथित सभ्यहरुको अस्तित्व नरहने कुरा उनीहरुले सोचेकै छैनन्, सोचेकै हुँदैनन् । तिनमा रहेको निष्कपट उच्च मानवीयताले उनीहरुलाई त्यस्तो सोच्ने कुनै कुसँस्कार दिएकै छैन । बरु त्यसको बिपरीत ती प्रकृतिसँग खेल्ने, त्यसैमा रमाउने र अधिकांशतः अबोध प्राणीहरु नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् । प्रकृति अनुकूल भइदियो भने खुशी हुन्छन् । प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरु बाध्य छन् । रुन्छन्, कराउँछन्, छाती पिट्छन् र फेरि सम्हालिदै प्रकृतिकै काखमा हिलो, धूलोसँग खेल्छन् । यो साल बिग्रियो अर्को साल कसो नसप्रेला भनेर आशावादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।

हो, हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम व्यापार, नीच नोकरी मान्ने प्रचलन थियो । त्यसैले समाजले त्यतिबेला कृषिलाई सर्बोपरी स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ । तर आज त्यसको ठिक बिपरीत कृषि कर्म सबैभन्दा नीच, ब्यापार मध्यम नै र नोकरी सर्बोत्तम बन्न पुगेको छ । कृषि जस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनस्र्थापना गरेर कृषि कर्म र किसानलाई चौतर्फीरुपमा निरन्तर सहयोग गरेर उन्नत तुल्याउन सकिएन भने मानब अस्तित्व नै ठूलो र अपूर्र्व संकटमा पर्ने कुरा दिन प्रतिदिन सन्निकट हुँदै गइरहेको छ । आजको विश्वको बढ्दो जनसंख्या र जमिनको धान्नसक्ने क्षमता (क्यारिङ्ग क्यापासिटी) र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आकलन गरेर नै संयुक्त राष्ट्र संघले पनि अरु धेरै खानहुने श्रोतहरु (एडिबल्स) अहिले अस्तित्वमा भइरहेका बाहेक अरु थप झारपात, बोट बिरुवा, पशुपंक्षी समेतलाई खाद्य बस्तुमा जोड्न बाध्य बनेकोदेखिदैछ । यसले पनि कृषिको विश्वव्यापी महत्व, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्तरूपमा चालिनुपर्ने थप कदमलाई प्रष्ट दर्शाउँदछ ।

त्यसैले हाम्रो कृषि क्षेत्रमा सरकारी स्तरमा रहेको ब्याप्त भ्रष्टाचार र कमिशनखोरीको महाजाल तथा किसान चूसाहा प्रबृत्तिलाई समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र विश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने किसिमले अघि बढ्नु पर्ने आवश्यकता आज टड्कारो छ । यस सन्दर्भमा भूमिसँग जोडिएको असमान बितरण, स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नु पर्ने पहिलो सर्बोपरी आवश्यकता छ । यसैलाई बिगतदेखिनै बैज्ञानिक क्रान्तिकारी भूमिसिुधार भनिदै आएको हो ।

यसका अतिरिक्त अर्कोतिर कृषिलाई दीगो र उत्पादनशील तुल्याइराख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको सुनिश्चित बजार व्यवस्थापन, क्षतिपूर्तिको व्यवस्थाकासाथ उन्नत र गुणस्तरीय प्रांगारिकि, जैबिक मल र सन्तुलित रासायनिक मल, बिऊ, निरन्तर दीगो सिंचाईं प्रविधिको उपाय, रोग किरा लाग्न नदिने र लागि हालेमा नियन्त्रण गर्ने जैबिक प्रविधिको उन्नत उपाय अबलम्बन गरिनु अत्यावश्यक छ । अनि कृषि क्षेत्रक कृषि श्रमिक, त्यस क्षेत्रका दलित, कृषिमा काम गर्ने महिला किसान (जसको कामको गन्ति हुँदैन) का जमिन र ज्यालदारीका समस्यहरू पनि हल गरिनै पर्ने हुन्छ ।

यी सबै कार्यका लागि जल–ऊर्जा शक्ति अर्थात् जल विद्युत वास्तजमा किसानको प्राथमिकतामा पर्नुपर्छ । र कृषि, वन वातावरणलाई जोगाउन विद्युतको भरपूर र सार्थक उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि जल विद्युत उत्पादन कृषिसँगै जोडिएको अर्को महत्वर्ण र आधारभूत राष्ट्रिय कदम हो र हुनुपर्दछ । अन्यथा हामी मौसम अनुकूल हुँदा धानबाली लगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जीडीपी) बढ्ने, अर्थतन्त्र सामान्य सुध्रिने र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने या गुम्ने स्थितिभन्दा माथि उठ्न कदापि सक्ने छैनौं । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरष्कारकै निरन्तरता बाहेक थप अरु केही पनि हुने छैन । त्यसैले आज किसान बर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिवर्तनको लागि पहिल्यै कहिल्यैभन्दा जगरुप, संगठित र संघर्षशील हुनुको कुनै बिकल्प छैन ।

वास्तवमा कृषि र किसान सामन्तवाद र साम्राज्यवादबाट मुक्त नभइ सही अर्थमा कृषि र किसानको चौतर्फी समुन्नति हुन सक्ने वातावरण नबन्ने मात्रै होइन, राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका समस्याहरू पनि सही अर्थमा समाधान भएर जान सक्तैनन् । त्यसैले नै किसान वर्गका बिभिन्न तह र तप्का नयाँ जनवादी क्रान्तिका मेरूदण्ड हुन् भन्ने महत्वपूर्ण विश्लेषण गरिएको र निश्कर्ष निकालिएका हो र यो शक्तिलाई राष्ट्रियता, जनतन्त्र र जन जीबिकाको महत्वपूर्ण आन्दोलनको सम्वाहक र पहरेदारका रुपमा लिएर अघि बढ्नु पर्दछ भन्ने मान्यता विकसित गरिएको हो । बस्तुतः किसान र कृषिलाई बचाआँै देश बचाऔँ, राष्ट्रियतालाई सुदृढीकरण गरौँ भन्नुको तात्पर्य पनि यही नै हो ।

कोभिड–१९ महामारीले कृषिमा ध्यान केन्द्रित गर्न विश्वव्यापीरुपमा नै गम्भीर ध्यानाकर्षण गरिरहेको विश्वको पछिल्लो सन्दर्भमा यी कुराहरुलाई जीवन्त र गहनरुपमा मनन गर्न सकियो र सिकियो भने मात्र मुलुकलाई सही दिशामा अग्रसर तुल्याउन अग्रसर हुन सकिन्छ । देशलालाई आत्मनिर्भर र परनिर्भरताको पासोबाट मुक्त बनाउन सकिन्छ । अन्यथा देश र जनताको अस्तित्वकै भयाबह संकट उत्पन्न हुने कुरा निश्चित छ । यसर्थ यो असमान्य अबस्था सिर्जना हुन नपाओस् भन्ने कुरामा गम्भीर ध्यान पुर्याउन राज्य लगायत सबै सरोकारवालाहरूसँग बिशेष अनुरोध छ । अन्यथा समय भिड्किएपछि टाउकोमा हात लगाएर खुइय्य गर्नु बाहेक अरु केही हात लाग्ने छैन । समय र अनुभवले सिकाएको पाठको सार्थक अनुसरण गर्नु सर्बथा उचित हुन्छ ।


क्याटेगोरी : कृषि, जनमञ्च, बिचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट