बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिइने, घाइतेको उपचार प्रदेश सरकारले गर्ने

ताप्लेजुङ, ४ असार । कोशी प्रदेशले बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतवार (हिजो) बेलुका बसेको कोशी प्रदेश विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट ज्यान गुएमाएकाको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालयले जनाएको छ ।
घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध भएका बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय भएको मन्त्री मेन्याङ्बो बताए । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिरोले सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार, कोशी प्रदेश
प्रतिक्रिया