Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

लुवाँलोका कारण हवाई उडान प्रभावित


काठमाडौं, ३ वैशाख । प्रतिकूल मौसमका कारण आइतबार मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्ण रूपमा उडान प्रभावित भएको छ । सिमराको उडान भर्खरै खुलेको छ । पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन । केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको छ ।

विमानस्थलका अनुसार आज आन्तरिकतर्फ ११५ उडान तालिका छन् । तीन दिनदेखि राजधानीसँगै देशका अरू क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो । गएको शुक्रबार र शनिबार पनि पोखराको उडान प्रभावित भएको थियो ।

अन्तर्राष्ट्रियतर्फ बिहान केही समय उडान सामानय प्रभावित भए पनि अहिले नियमित उडान भइरहेको प्रवक्ता सिटौलाले उल्लेख गरे । कतार एयरवेजको जहाजले विमानस्थलमा गलत दिशा ‘मिस एप्रोच’ लिएकाले करिब दुई घण्टा ‘होल्ड’ (आकाशमा फन्को लगाउने) भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

राजधानी काठमाडौं उपत्यकाको आकाशमा गएको शुक्रबारदेखि बाक्लो तुवाँलो लागिरहेको छ ।


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट