Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनलाई जर्मनीको आग्रह


काठमाडौं । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन् । आज चिनियाँ विदेशमन्त्री छन सङसँगको भेटवार्तामा जर्मनीकी विदेशमन्त्रीले रुसमा चीनभन्दा अरू कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेकी हुन् ।

चीनका विदेशमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै जर्मनीकी विदेशमन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानव अधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिइन् । चीनले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेकामा आफू आश्चर्यचकित भएको पनि उनले बताइन् ।

गएको हप्ता चीनको राजकीय भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले पनि युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङको प्रमुख भूमिका हुने बताउँदै राष्ट्रपति सीलाई युद्ध रोक्नेतर्फ लाग्न आह्वान गरेका थिए ।

युक्रेन युद्धलाई लिएर चीन तटस्थ रहेको छ । राष्ट्रपति सीको भर्खरैको मस्को भ्रमणलाई लिएर पश्चिमा शक्ति राष्ट्रले चीनलाई रुसको परम्परागत सहयोगी भन्दै चीन रुसको पक्षमा रहेको आरोप लगाएका छन् । चीनले युक्रेन सङ्कटको एकमात्र उपाय शान्ति प्रवर्धन तथा वार्ता भएको बताउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयले गएको महिना शान्तिको अवधारणापत्र सार्वजनिक गर्दै वार्ताको माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।

यसैबीच चीनका रक्षामन्त्री ली साङ्फु आफ्ना रुसी समकक्षी सेर्गेई शोइगुको निमन्त्रणामा चार दिने भ्रमणमा आउँदो आइतवार मस्कोतर्फ प्रस्थान गर्ने भएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट