Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाकिस्तानी विदेशमन्त्री भारत भ्रमणबाट सार्क बाधा फुकाउन सहयोग प्राप्त हुने अपेक्षा


काठमाडौं । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीको भारत भ्रमणले यी दुई जन्मजात शत्रु देशको सम्बन्धमा जमेको हिउँ पग्लिन लागेको हो कि भनी बहस हुन थालेको छ ।
सन् २०२३को जनवरी १६मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले संयुक्त अरब इमिरेट्स वा यूएईको भ्रमणका बेला दिएको एक अन्तर्वातामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वार्ताका लागि आग्रह गरेका थिए ।

प्रधानमन्त्री सरिफले भनेका थिए “ आउनुस मोदी जी बसौँ , कास्मिरका विषयमा वार्ता गरौँ ।”

सोही दिन संयुक्त राष्ट्र सुरक्षा परिषदमा लश्करका आतंकवादी अब्दुल रहमान मक्कीलाई वैश्विक आंतकवादी घोषित गरिएको थियो । यो पटक पाकिस्तानको निकटतम् मित्र चीनको तर्फबाट कुनै बाधा अड्चन नअड्काइएको पाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो घटनाको करिब एक हप्ता पछि २५ जनवरीका दिन भारतले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीलाई संघाइ सहयोग संगठनमा सहभागी हुन निम्तो पठायो । पाकिस्तानले त्यो निम्तो स्वीकार ग¥यो । बिहीबार ४ मेका दिन विदेशमन्त्री बिलावल भुट्टो भारत पुगे ।

सन् २०२२को डिसेम्बरसम्म बिलावल भुट्टोले भारतीय प्रधानमन्त्री मोदीको कटु आलोचना गरेका थिए । तर विगत ६ महिनामा भारत पाकिस्तानबीचको जमेको सम्बन्ध पग्लिन थालेको देखिएको हो ।

डिसेम्बर २०२२सम्म भारत पाकिस्तानबीचको तनाव उच्चतर थियो । १५ डिसेम्बर २०२२का दिन भारतका विदेशमन्त्री एस जयशंकरले भनेका थिए “जो देश अल काइदाका नाइके ओसमा बिन लादेनको मेजमानी गर्छ , छिमेकी देशको संसदमा हमला गर्न लगाउँछ , त्यस्ता देशले संयुक्त राष्ट्रसंघमा उपदेशक बन्नुको कुनै औचित्य छैन् ”

जयशंकरले बोलेको एक दिन पछि १६ डिसेम्बर २०२२का दिन पाकिस्तानी विदेशमन्त्री भुट्टो जर्दारीले जवाफ फर्काउँदै भने “ ओसामा बिन लादेन मारिए तर गुजरातका कसाइ अझ जिउँदै छन् र उनी भारतका प्रधानमन्त्री हुन् । जबसम्म उनी प्रधानमन्त्री बनेका थिएनन् तबसम्म उनलाई अमेरिका आउन रोक लगाइएको थियो ।”

दुवै देशका विदेशमन्त्रीका यी दुई अभिव्यक्ति कठोर र कटु देखिन्छ । जसमा कुनै किसिमको वार्ताको सम्भावना देखिन्न् ।

तर यस्तो अवस्थामा पनि दुई देशबीचको जमेको हिउँ पग्लिन थालेको संकेत पाकिस्तानी प्रधानमन्त्री सरिफले १६ जनवरीका दिन यूएईको अल अरयिबा न्युज च्यानललाई दिएको अन्तर्वार्ताबाट पर्यवेक्षकहरूले पाएका थिए ।

सरिफले अन्तर्वार्तामा भनेको कुरो थियो “यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान समक्ष भारत र पाकिस्तान बीचको सुलह गराउन गुजारिस गरेको छु । उहाँ पाकिस्तानका मित्र हुनु हुन्छ र भारतसँग पनि उहाँको असल सम्बन्ध छ । उहाँले दुवै देशबीचको वार्ताका लागि अहं भूमिका निभाउन सक्नु हुन्छ । मैले वचन दिएको छु पूरा निष्ठाका साथ भारतसँग वार्ता गर्नेछौँ । हामीले भारतसँग ३ युद्ध लड्यौँ । यसबाट केवल गरिबी , बेरोजगारी मात्र हासिल भयो । हामीले सबक सिकि सकेक छौँ । हामी शान्तिसँग बाँच्न चाहन्छौँ । म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो सन्देश दिन चाहन्छु कि आऔँ सगैँ बसौँ र कास्मिरबारे कुरा गरौँ ।”

दोस्रो कुरा यसअघि चीनले मक्कीलाई वैश्विक आतंकवादी घोषित गर्न रोक्न खोजेको देखिएपनि यसपटक यो प्रयासमा कुनै बाधा नहालेकोले भारतीय समाचार संस्थाहरूले जमेको हिउँ पग्लिन थालेको संकेतको रूपमा प्रस्तुत गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफको सो अन्तर्वार्ता प्रति भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले १९ जनवरीका दिन भनेका थिए “भारतले सदैव पाकिस्तानसँग सम्बन्ध सामान्य बनाउन चाहेको छ । तर यसका लागि आतंक तथा हिंसामुक्त महोल हुनु आवश्यक छ ।

संघाइ सहयोग संगठनमा भारत र पाकिस्तानका अतिरिक्त चीन, रुस, कजाकिस्तान, किर्गीस्तान, ताजिकिस्तान र उज्बेकिस्तान सदस्य छन् । यो विदेश मन्त्रीस्तरीय बैठकमा अन्य विदेशमन्त्रीहरूलाई पनि निम्तो पठाइएको थियो । तर भारतले पाकिस्तानलाई निम्तो पठाउनु र त्यसलाई स्वीकार गरी आइपुग्नुलाई कूटनीतिक जगतले सकारात्मकरूपले लिएको छ ।

१४ फेब्रुअरी २०१९मा पुलवामामा आत्मघाती हमलामा ४० जना भारतीय सेना मारिएका थिए । २६ फेब्रुअरीमा २०१९मा भारतीय सेनाले पाकिस्तानको बालाकोटमा सर्जिकल स्टाइक गर्छ । यसमा कतिपय आतंकवादी मारिएको दाबी गरिन्छ ।

५ अगस्ट २०१९मा भारत सरकारले जम्मु कास्मिरलाई दिइएको विशेष दर्जा समाप्त गर्ने निर्णय गरी केन्द्र शासित प्रदेश घोषित गर्छ । यी घटनाहरूले दुई देशबीचको सम्बन्ध थप खराब हुन पुगेको थियो । जसको अभिव्यक्ति डिसेम्बर २०२२सम्म थियो ।

तत्कालीन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विशेष दर्जाको धारा ३७० बहाल नगरेसम्म वार्ता नहुने बताएका थिए ।

यसको दुई वर्ष पछि २५ फेब्रुअरी २०२१मा भारत र पाकिस्तान बीच सीमामा युद्धविराम घोषणा भयो । त्यसबेला ब्लुम्बर्गले यो युद्धविरामका लागि यूएईले गुप्तरूपमा मध्यस्थता गरेको समाचार छापेको थियो । अमेरिका पछि यूएईले यो युद्धविरामको स्वागत गर्ने दोस्रो देश थियो ।त्यतिखेर २६ फेब्रुअरीमा यूएईका विदेशमन्त्री अब्दुल्ला बिन जायद अल नाहयान अचानक दिल्लीको एक दिवसीय भ्रमणमा भारत पुग्छन् ।

बहुपक्षीय मञ्चको अवसर पारेर पाकिस्तानी विदेशमन्त्री भुट्टो जर्दारीको यो भारत भ्रमणबाट सम्बन्ध सुधार हुनुपर्ने चाहना दक्षिण एसियाली देशहरूको हुनु स्वाभाविकै छ ।
भारत र पाकिस्तानका शत्रुताका कारण दक्षिण एसियाली देशहरूको संगठनले यो क्षेत्रको विकासले लिनुपर्ने गति लिन नसकेको घाम जतिकै छर्लङ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट