Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यथास्थितिमा माओवादी धारका शक्तिहरुबीच एकता सम्भव छैनः गंगानारायण श्रेष्ठ


काठमाडौं, ३२ जेठ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिक्रान्तिकारीहरुले अदालतलाई प्रतिक्रान्तिको औजारका रुपमा प्रयोग गर्ने खतरा बढेको बताएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले माओवादीहरुले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गइरहेको बताको बताए। उनले उपलब्धिहरुको रक्षा गर्न नसक्नुको परिणामस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको बताए ।

मन्त्री श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडी बढ्नुको विकल्प नभएको बताए । उनले प्रतिक्रान्तिकारी षड्यन्त्र निस्तेज पार्न एकताबद्ध हुनुको विकल्प नभएको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने – ‘क्रान्ति निकै निर्मम हुन्छ । क्रान्तिको केन्द्रीय प्रश्न राज्यसत्ता हो । क्रान्तिमा हारेका वर्ग र शक्तिले जहिल्यैपनि प्रतिक्रान्तिक लागि अन्तिम प्रयास गरिरहन्छ । गुमेको आफ्नो सत्ता स्वर्ग फिर्ता गर्न नाभिदेखिको बल लगाइरहन्छ । यो उनीहरुको धर्म नै हो । तर मुख्य कुरा त्यो होइन, क्रान्तिकारी शक्तिहरुले क्रान्तिको बलमा प्राप्त गरेको सत्ता, शक्ति, उपलब्धि रक्षा गर्दै संस्थागत गर्न सधैँ सचेत रहनुपर्दछ ।’

उनले भने, ‘हाम्रो देशको सन्दर्भमा क्रान्तिकारी शक्तिहरु आफैले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गएका छन् । यसैको परिणामस्वरुप यि मुद्दाहरु ल्याइएका हुन् ।’ क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडी बढ्नुपर्ने भन्दै उनले प्रतिक्रान्तिकारी शक्तिले अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्न सक्ने खतरा बढ्दै गइरहेको दाबी गरे ।

उनले माओवादी धारका पार्टीहरुबीच एकता आवश्यक रहेको पनि बताए । गणतन्त्र लगायतका राजनीतिक परिवर्तनको रक्षा गर्न र सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्न एकता आवश्यक रहेको उनको भनाई छ । उनले भने – ‘एकता किन आवश्यक छ भने हामीले रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नका निम्ति, नेपाली जनताहरुले लडेर प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि प्राप्त गर्नका लागि एकता आवश्यक छ । प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्नका लागि पनि एकता आवश्यक छ ।’

तर यथास्थितिमा माओवादी धारका दलहरुकाबीचमा एकता सम्भव नभएको पनि उनले स्पष्ट पारे । एकताका लागि सबै रुपान्तरण हुनुपर्ने उनले बताए । मेरो गोरुको बार्है टक्का भनेर आ–आफ्नै डम्फु बजाएर बसे जनयुद्ध लडेका नेताहरुको अवसान हुने उनको तर्क छ । उनले भने , ‘यथास्थितिमा एकता सम्भव छैन । नयाँ आधारमा नयाँ एकताका लागि सबैमा रुपान्तरण आवश्यक छ । रुपान्तरणसहितको एकताको कुनै विकल्प छैन । मेरो गोरुको बाह्रैटक्का भनेर आ–आफ्नै डम्फु बजाइ बस्ने हो भने जनयुद्ध लडेका नेताहरुको अर्थात् जनयुद्धको नै अवसान असम्भ्यावी छ । तसर्थ हाम्रो अगाडी दुई मात्र विकल्प छन् । कि सच्चिने, कि सक्किने । तसर्थ सच्चिनुको विकल्प छैन । मेरो आग्रह छ, सबै सच्चिऔँ । नयाँ आधारमा रुपान्तरणसहितको नयाँ एकता कायम गरेर नयाँ नेपालको नेतृत्व गरौँ ।’

नेपाल समाजवादी पार्टीका सह–अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले माओवादी केन्द्रलाई एकताकालागि लिखित रुपमा आधार प्रस्तावहरु दिएको जानकारी दिए । उनले माओवादी पार्टीबाट औपचारिक रुपमा कुनै जवाफ नआएको र पार्टीको केन्द्रीय समितिको बैठक बसेर आफूहरुले पठाएको प्रस्तावमाथि छलफल गरी औपचारिक रुपमा जवाफ लेख्ने जानकारी पाएको बताए ।


क्याटेगोरी : जनमञ्च, राजनीति
ट्याग : #ganga shrestha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट