Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जथाभाबी फोहर फाल्नेलाई कारबाही गर्न कामपाले थाल्यो रात्रिकालीन अनुगमन


काठमाडौं । सार्वजनिक ठाउँमा फोहर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ ।

सार्वजनिक ठाउँमा रातको समयमा फोहर फाल्ने बढेपछि कामपाले हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको हो । जथाभाबी फोहर फालेको भन्दै कामपाले गएको हप्ता जरिबानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ । गएको बिहीवार वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिबाना असुल गरेको हो।

जरिबाना असुल गरी गाडीलाई फोहर जथाभाबी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । दुई हप्ताअघि पनि कामपाले तोकिएको ठाउँ भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप १२ हजार रुपैयाँ जरिबाना असुल गरेको थियो ।

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिबाना तिराउन थालेको छ ।

फोहरलाई तोकिएको ठाउँमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । ुनागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिबानासमेत तिराउने गरेको छु, प्रमुख श्रेष्ठले भने।

कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिबाना गर्ने गरेको छ ।

उपत्यकाको १८ पालिकाको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट