Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंमा वायु प्रदुषण बढेपछि अनिवार्य मास्कको प्रयोग गर्न विज्ञको सुझाव


काठमाडौं, ३ वेशाख । काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा १ नम्बरमै पुगेपछि विज्ञहरुले सावधानी अपनाउन आग्रह गरेका छन्। वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ।

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित ससूचीको पहिलो स्थानमा राखेको हो। शनिवार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।

वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ। पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न सहरहरुमा परेको विज्ञहरुले बताएका छन्।

जलवायु तथा विपत् विज्ञ डा.धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदूषित शहरमध्ये पहिलो नम्बरमा परेको बताए। प्रदुषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको उप्रेतीको भनाइ छ। उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदुषण बढेको बताए।

आइतबारदेखि नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने उप्रेतीको भनाइ छ। अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेकोभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उप्रेतीले उल्लेख गरे।


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट