Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपनिर्वाचनमा झन्डै ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग


काठमाडौं । आज भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपचुनाव शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । अहिलेसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा झन्डै ६० प्रतिशत मतदान भएको देखिएको छ । जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मतदान भएको छ ।

गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा बारा–२ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन–२ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ–१ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । यस चुनावमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार दुई सय ४७ मतदाता रहेका थिए ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज बेलुकीदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा–२ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र कलैयामा राति ८ बजेभित्र, चितवन–२ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल भरतपुरमा राति ११ बजेभित्र र तनहुँ–१ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन ९मतगणना० निर्देशिका २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ । चुनावको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरूपण) सम्बन्धी कार्यविधि २०७६ बमोजिम विवाद निरूपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट