Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पोखरा–मुग्लिन सडक कालोपत्रे सुरु


तनहुँ, २० जेठ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत कालोपत्रे सुरु भएको छ । आयोजनाको पूर्वीखण्डको कालोपत्रे सुरु गरिएको हो । आँबुखैरेनी गाउँपालिका –१ सत्रसय क्षेत्रमा कालोपत्रको काम धमाधम भइरहेको छ ।

दुई लेनको सडकलाई चार लेन बनाउनेक्रममा पहिलो चरणमा दुई लेनको कालोपत्रे सुरु गरिएको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । यसै आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्नेगरी कालोपत्रे भइरहेको सुवेदीले जानकारी दिए ।

यातायात आवागमनलाई सहजकताको दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिए। यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टोहरु पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी उनले दिए । सुवेदीले भने, ‘‘निर्धारित समयमा पूरा गर्नेगरी कामलाई तीव्र पारेका छौं ।’’

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।

पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, प्रदेश, समाचार
ट्याग : #pitch, #road

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट