Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रदेश १ को नाम ‘कोशी’


काठमाडौं । प्रदेश १ को ‘कोशी’ कायम भएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामकरण गरेको हो । योसँगै प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेशले नाम पाएको हो ।

प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको हो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित थिए ।

नेपालको संविधानको धारा २९५ को उपधारा ९२० बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो ।

प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सभा सदस्य कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा बैठकमा राजेन्द्रकुमारको संशोधन प्रस्ताव टेबल गरेपछि ध्वनी बहुमतले अस्वीकृत भएको थियो ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए ।  प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ त्यस प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले दिएका थिए ।

प्रदेशको स्थायी राजधानी भने प्रदेश सभाले पहिलो कार्यकालमै २०७६ वैशाख २३ गते विराटनगर तोकेको थियो ।

कोशी प्रदेश सभामा ९३ जना सांसद छन् । जसमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

 


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट