Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
Jhilko

उपेन्द्र यादवको संसद छिर्ने चाहना पूरा


काठमाडौं, १३ वैशाख ।प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पूरा भएको छ । उनले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले हराए । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।

उपेन्द्र यादव मंसिरमा भएको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए । मंसिरमा भएको चुनावमा पराजित भएपछि संसद छिर्नकै लागि उनले बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनावमा आफू उम्मेदवार बनेका थिए ।

मंसिर ४ मा बारा–२ मा तत्कालीन सत्तागठबन्धन र जसपा–एमाले विपक्षी मोर्चाबीच प्रतिस्पर्धा थियो । सत्तागठबन्धनबाट माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र विपक्षी गठबन्धन जसपाका रामसहाय प्रसाद यादव उम्मेदवार थिए । प्रत्यक्षतर्फ जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ र त्यसबेला माओवादीका उम्मेदवार कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए । कुशवाहा उपचुनाव अघि चैत १५ मा माओवादी छाडेर सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका हुन् । उपचुनावमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी छोड्न बाध्य भएको कुशवाहाले बताएका थिए ।

प्रमुख राजनीतिक दलका नेताले उपचुनावको मतपरिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पुर्‍याएको प्रतिक्रिया दिएका छन् । तनहुँ, चितवन र बारामा भएको उपचुनावको नतिजापछि उनीहरुले संविधान र कानुन मानेर स्वस्थ प्रतिस्पर्धाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क पनि गरेका छन् ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट