Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मेडिसिटी अस्पतालका दुई चिकित्सकलाई काउन्सिलको कारबाही


काठमाडौं, २९ फागुन । नेपाल मेडिकल काउन्सिलले मेडिसिटी अस्पतालका दुई जना चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचारका क्रममा अस्पतालका चिकित्सकले व्यवसायीक आचारण पूरा नगरेको भन्दै कारबाही गरेको हो।

काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
काउन्सिल स्रोतका अनुसार दुवै जना चिकित्सकलाई चैत ५ देखि ११ गतेसम्मका लागि निलम्बन गर्ने निर्णय भएको छ। डा शर्मा र डा मिश्रले उपचार गरेका योगेन्द्र बहादुर बस्नेतको गत जेठ २५ गते मृत्यु भएको थियो। बस्नेतलाई जेठ १७ गते उपचारक लागि मेडिसिटी अस्पताल लगिएको थियो। डा शर्माले बस्नेतको पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सुझाब दिएका थिए।

‘शल्यक्रिया त राम्रै भएको रहेछ। तर त्यसपछि हुन सक्ने कम्प्लिकेसन र फलअप उपचारमा भने ध्यान दिइएको देखिएन,’ काउन्सिल स्रोतले भन्यो, ‘बिरामीको उपचारमा खटिएका चिकित्सकहरुले शल्यक्रियापछिको फलोअपका विषयमा वेवास्ता गरेको देखिएकाले आगामी दिनमा त्यसतर्फ ध्यान दिन सचेत गराउँदै सात दिनका लागि निलम्बन गर्ने निर्णय भएको हो।’

बस्नेतको मृत्युपछि उनका छोरा समिरले उपचारका क्रममा लापरबाही भएको भन्दै दोषिलाई कारबाहीको माग सहित असार २८ गते काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीपछि काउन्सिलले गरेको छानबिनका क्रममा उपचारका क्रममा चिकित्सकहरुले व्यवसायीक आचारण पालना नगरेको फेला परेको हो।


क्याटेगोरी : स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट