Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसका सांसद अनुपस्थित भएपछि शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम रोकियो


मकवानपुर, ८ चैत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने गरी आज बुधवार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित भएका छन् । कांग्रेसका सांसद नआएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित भएको छ । अब फेरि यही चैत १० गते विश्वासको मत लिने तयारी गरिएको छ ।

कांग्रेस र माओवादीको हानथापका कारण सरकारबाट बाहिरिने तयारी गरेको नेकपा एमालेले पनि आज बाहिरिएन । प्रदेश सभा बैठकमा सहभागी भएर एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सम्बोधनकै क्रममा सरकारबाट बाहिरिने घोषणा गर्ने र पछि पत्र मुख्यमन्त्रीलाई बुझाउने तयारी थियो । कांग्रेसले एमालेले राजीनामा नदिएसम्म सरकारमा सहभागी नहुने बताइरहेको छ ।

कांग्रेस पार्टीभित्रको विवादपछि आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने औपचारिक कार्यक्रमसमेत स्थगित भएको हो । हेटौँडामा प्रदेश सभा बैठकका लागि बोलाइएको समयमा नै काठमाण्डौमा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिने भए पनि समय अपुग भएकाले हेटौँडामा प्रदेश सभा बैठकमा आउन नसकिएको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बताए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् । गएको पुस २६ गते मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई छ दलका एक सय पाँच जना सांसदले विश्वासको मत दिएका थिए । गएको पुस २५ गते पाँच दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई नेमकिपाका तीन जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

एक सय १० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका तीन वटा दलका ६७ जना सांसदको समर्थन प्राप्त हुने देखिन्छ । उहाँले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका तीन र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ ।


क्याटेगोरी : राजनीति, संसद, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट