Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ललितपुरको कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिए


काठमाण्डौं, १२ चैत । ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिएका छन् । कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शङ्कास्पद बिरामी भेटिएका वडा कार्यालयले जनाएको छ ।

वडाका अनुसार अहिलेसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपोर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ । दादुरा रुबेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत गरिएको छ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि आचार्यले दादुराको सङ्क्रमण पुष्टि भए छुट्टै आइसोलेशनमा बस्न र तत्काल वडामा जानकारी दिन समेत अनुरोध गरेका छन् । ललितपुर महानगरपलिकाका प्रवक्ता राजु महर्जनले टेकुमा गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ अर्थात् दादुराको सङ्क्रमण नभएको जानकारी आएको बताए । तर, पाटनमा गरिएको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।

दादुरा छिट्टै सर्ने र फैलने रोग भएकाले सतर्क अवस्थामा रहेको उनले बताए । यसपालि गएको पुस महिनामा बाँकेमा पहिलो पटक दादुराको सङ्क्रमण भएका बिरामी भेटिएका थिए । त्यसपछि आसपासका जिल्लामा पनि दादुरा सङ्क्रमित बालबालिका भेटिएका थिए।

कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने आशङ्का गरिएको छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन डाक्टरको आग्रह छ।

बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ । तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताए ।

उनका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ। नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखे तापनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो । तर यही समयमा फेरि दादुराका सङ्क्रमित भेटिन थालेका छन्।


क्याटेगोरी : स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट