Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अब देशमा राजनीतिक स्थायित्व कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड


चितवन, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । आज बिहीवार भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ भने ।

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’ सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।’ ६२ वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्त्व बोकेको उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागिपरेको बताए । उनले भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्त्वका साथ छलफल गर्नेछु ।’

लुम्बिनी विमानस्थलको विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलको विषयमा चीनसँग छलफल गर्ने उनले बताए । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्त्वका साथ अघि बढाएको उनको भनाइ छ । द्रुत मार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताए ।

चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो ।’ विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रूपमा काम गर्ने उनको विश्वास थियो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेकलाई भरतपुर महानगरपालिका–१ को दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उनले स्थानान्तरणका लागि एक–दुई दिनमा सहमति हुने बताए ।

फरक प्रसङ्गमा प्रचण्डले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण चाँडै सुरु हुने जानकारी दिए । रङ्गशालाको समस्या एक–दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उनले बताए । उनले भने ‘त्यो रङ्गशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण अगाडि बढ्छ ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकार ग्रामीणस्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताए । ग्रामीणस्तरको ‘लाइफलाइन’का रूपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो । उनले भने, ‘हवाई सुरक्षामाथि उठेका प्रश्न शून्य बनाउँदै ग्रामीणस्तरमा समेत सेवा पुर्‍याउन लागिपरेका छौँ ।’ नेपाल वायु सेवा निगमका जहाजलाई अन्तर्राष्ट्रियस्तरमा र आन्तरिकस्तरमा समेत प्रभावकारी बनाउने उनले बताए । उनले थपेृ, ‘पर्यटकीय क्षेत्रमा नयाँ उडान गर्ने योजना रहेको छ ।’


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट