Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु हुँदैन : सञ्चारमन्त्री शर्मा


काठमाडौं, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छिन् । सोमबार रेडियो नेपालको ७३ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी हुन् ।

कतिपय सञ्चारमाध्यम सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसदमा प्रस्तुत भएको जानकारी दिइन् ।

‘‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पुर्‍याउन खोज्दैछौँ । हामीले भनेका छौँ, सञ्चारमाध्यम सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरू भजनमण्डली हुनुहुँदैन भनेका छौँ ।,’’ मन्त्री शर्माले भनिन्, ‘‘ भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रसारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रसारण ऐन पारित भइरहँदा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’’

उनले प्रसारण ऐन पारित भइसकेपछि सञ्चारमाध्यममा नयाँ वातावरण सिर्जना हुने बताइन् । उनले सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको पनि जानकारी दिइन् । मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न नसकेको बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘‘आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानुनहरू अभाव छ, ती कानुनको तयारीबारे मन्त्रालयमा विज्ञ साथीहरूसँग छलफल गरेर तयार गरिरहेका छौँ । यी सबैमा कानुनी रूपमा अघि बढ्न खोज्दैछौं । हामी अझै प्रभावकारी ढङ्गबाट अघि बढ्न जरुरी छ ।’’

मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चारमाध्यमले प्रसारण एवम् प्रकाशन गर्न जरुरी रहेको बताइन् ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot, #rekha sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट