Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भागबन्डा मिलाउन बागमती प्रदेशमा एउटा मन्त्रालय थपिने


हेटौंडा, ७ जेठ । सत्ता गठबन्धनका दलबीच भागबन्डा मिलाउन बागमती प्रदेशमा एउटा मन्त्रालय थपिने भएको छ। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई भाग पुर्‍याउन मन्त्रालयको संख्या ११ बाट बढाएर १२ पुर्‍याइने भएको हो।

योसँगै कांग्रेस र एकीकृत समाजवादीले भनेजति नै क्रमशः ६ र २ मन्त्रालय पाउने भएका छन्। यसअघि २ मन्त्रालय लिइसकेको कांग्रेसबाट आज थप ४ जना मन्त्री बन्दै छन्। तर यीमध्ये अहिलेलाई एकजना बिनाविभागीय मन्त्री नियुक्त गरिने सहमति सत्तारुढ दलहरूबीच भएको छ।

लामो समयसम्म बागमती प्रदेश सरकारलाई पूर्णता दिन नसकेपछि अन्त्यमा मन्त्रालयको संख्या बढाउन मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बाध्य भएको मुख्यमन्त्री स्रोतले जनाएको छ।

यसरी भागबन्डा मिलेसँगै आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। भागबन्डाका लागि एउटा मन्त्रालय थप्नुपर्ने भएपछि मुख्यमन्त्री जम्मकट्टेल आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएका हुन्। गत पुस २६ गते मुख्यमन्त्री बन्दा उनले पहिलो निर्णय नै मन्त्रालय घटाउने गरेका थिए।

गत बिहीबार बालुवाटारमा बसेको शीर्ष तहसँगको बैठकले जसरी पनि प्रदेशको कुरा प्रदेशबाटै मिलाएर गठबन्धन टिकाउन जोड दिनुपर्ने निर्णय गरेपछि एउटा मन्त्रालय थप्ने विषयमा सहमति जुटेको कांग्रेसका एक सांसदले नेपालखबरलाई बताए।

उनका अनुसार बागमतीको बेमेलले केन्द्रकै गठबन्धनमा धक्का हुने संकेत देखिएपछि मन्त्रालय संख्या बढाउन मुख्यमन्त्रीलाई दबाब परेको हो। सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाइसकेको छ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट