Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भन्ने हेक्का राखेको छु : राष्ट्रपति पौडेल


गोरखा, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भनेर हेक्का राखेको बताएका छन्।

गोरखा भ्रमणका क्रममा आज आइतवार गोरखा सङ्ग्रहालयमा संक्षिप्त सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकसँग जोडिने र पिरमर्का बुझ्ने विषयमा राजतन्त्रका राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्षबीच फरक हुनैपर्छ भन्नेबारेमा आफूले हेक्का राखेको बताएका हुन् । उनले कुनै पनि व्यक्तिको आउजाउलाई ‘सवारी’ भन्ने शब्द प्रयोग नगर्न पनि सुझाव दिए ।

विशिष्ट व्यक्ति आउजाउ गर्दा सवारी भयो भन्दाखेरी सामन्तवादी शैलीजस्तो देखिने र ठेट नेपाली शब्द पनि नभएकाले बरु आवागमन भन्न पनि राष्ट्रपति पौडेलले सुझाव दिए । पछिल्लो समय उनले आफ्नो भ्रमणका बेला अरू गाडी र नागरिकको आवागमन नरोक्न निर्देशन दिँदै आएका छन् ।

यसैबीच राष्ट्रपति पौडेलले बुढीगण्डकी आयोजना, पालुङटार विमानस्थल निर्माण र मनास्लु पदमार्ग राम्रोसँग सञ्चालन गर्न सकेमा गोरखाको मुहार फेरिने पनि उल्लेख गरे ।

राष्ट्रपति भएपछि पहिलो पटक काठमाण्डौं बाहिरको भ्रमण गरेका पौडेलले पत्नीका साथमा गोरखकाली र गोरखनाथ मन्दिरमा झन्डै आधा घण्टा पूजाआजा गरेका थिए । यस्तै उनले पैदलै हिँडेर गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गर्दै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण पनि गरेका थिए ।

 


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट