Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जनालाई कार्वाहीको डण्डा


काठमाडौं । मंसीर २ गते सम्पन्न भएको चुनावमा पार्टीभित्रबाट नै अन्तर्घात भएको भन्दै उपेन्द्र यादवको जसपामा ८० जनालाई कार्वाहीको डण्डा चल्ने भएको छ ।पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन आज पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तर गरेसँगै उनीहरुलाई कार्वाही हुने भएको हो ।

उक्त कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो । १५२ जना आरोपी नेतासँग बयान लिनुको साथै अन्य प्रमाण र थप जानकारीका लागि २४७ जनासँग पनि भेटेर कुराकानी गरिएको थियो ।

कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको प्रतिवेदनमा उल्लेख रहेको स्रोतले जनाएको छ । त्यसमध्ये सबभन्दा बढी जसपाका अध्यक्ष उपेन्द्र यादव क्षेत्रका नेताहरू रहेको बताइएको छ ।

अध्यक्ष यादव सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव हारेका हुन् । चुनावमा पार्टीकै शीर्ष नेताबाट असहयोग भएको कुरा समीक्षा बैठकमा उठेको थियो । ती नेताहरूसँग पनि कार्यदलले बयान लिएको थियो । स्रोतका अनुसार सप्तरी २ मा मात्र ३८ जनासँग कार्यदलले बयान लिएको छ ।

यस अघिको चुनाव २०७४ मा समेत छानबिनमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्ने सिफारिस गरेको थियो । त्यसमध्ये आठ जनालाई पार्टीबाट निष्कासन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो । तर त्यो प्रतिवेदन नै कार्यान्वयनमा आएको थिएन । यद्यपी यसपटक अध्यक्ष यादव आफैले चुनाव हारेका कारण प्रतिवेदन कार्यान्वयनमा आउनेमा सबै विश्वस्त रहेको बताइएको छ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट