Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीबिरुद्धको मुद्दालाई सामान्य लिएका छैनौं : नारायणकाजी श्रेष्ठ


नवलपरासी। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डबिरुद्ध सर्बोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले ठूलो रूपमा पनि नलिएको र सामान्य रूपमा पनि नलिएको बताएका छन्।

बुटवल–नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त जिज्ञासामा सो कुरा बताएका हुन्।

‘प्रधानमन्त्री प्रचण्डबिरुद्ध जुन बेहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन।’ उनले भने- ‘तर सत्यनिरूपण तथा मेलमिलाप, वेपत्ता छानवीन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले सो सम्बन्धि विधेयक संसदमा टेबुल गरिसकेका छौं।’

उनले उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने जानकारी दिए। नौ दलीय गठबन्धनको वर्तमान सरकार स्थिर र प्रभावकारी हुने, पार्टीबाट पठाइएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे आफूहरूले केही नसोचेको समेत उनले बताए। बुटवल(नारायणगढ सडक विस्तारले अपेक्षित गति लिन नसक्दा जनताले सास्ती खेप्नुपरेको पत्रकारको जिज्ञासालाई मन्त्री श्रेष्ठले गम्भीरतापूर्वक लिए।

समयमै र गुणस्तरीय रूपमा काम सक्न चिनिया निर्माण कम्पनीलाई पटक/पटक ताकेता गरिएको र मन्त्रालय तहबाटै अन्य सरोकार निकायसँग उचित समन्वय गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए। शुक्रबार नै नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति नवलपुरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कांग्रेस सहितको चुनावी सहकार्य, अकस्मात एमालेसँगको सरकार गठबन्धन र हाल कांग्रेससँगै निर्माण भएको समीकरणबारे स्पष्ट पारेका छन्। चुनावबाट ठूलो पार्टी हुनुको घमण्डले ‘सुरुको तीनबर्ष माओवादी केन्द्रको प्रधानमन्त्री, पछिल्लो दुईबर्ष कांग्रेसको प्रधानमन्त्री’ भन्ने पूर्व समझदारी कांग्रेसले तोडेकोले कांग्रेसलाई सवक र वाम सहकार्यको सकारात्मकताका लागि आफूहरूले एमालेसँग सरकार गठबन्धन गरेको उनले बताए। तर एमाले अध्यक्ष केपी ओलीले राप्रपा र रास्वपाको आडमा आफुहरूको घाँटी ङ्याक्ने नियत मात्रै राखेपछि र कांग्रेसले गल्ती महसुस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने परिस्थिति बनेपछि राजनीतिले अर्को मोड लिएको उनले बताए।

त्यसरी कांग्रेसबाटै राष्ट्रपति बन्ने र पुन लोकतान्त्रिक-वाम गठबन्धन बन्ने अहिलेको सन्दर्भको विकास भएको उनले बताए। त्यस अगाडि उपप्रधानमन्त्री श्रेष्ठले बर्दघाटस्थित शान्ति नमुना आधारभूत विद्यालयको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख आतिथ्यता गरेका थिए। त्यसक्रममा विद्यालयको नयाँ चारकोठे भवनको उद्घाटन समेत गरेका थिए। मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकासको पहिलो पूर्वाधार शिक्षा भएको र हालको सरकारले सामुदायिक शिक्षालाई नै मुल शैक्षिक थलो बनाउने नीति लिएको बताए। यससँगै उनले कावासोतीमा रहेको साना किसान कृषि सहकारी संस्थाको अवलोकन गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट