Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु : गगन थापा


काठमाण्डौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।

आइतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए । उनले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताए । सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जाने उनको भनाइ छ ।

उनले भने, ‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरू नेपाली कांग्रेसको महामन्त्री भएर गर्ने हो । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरू उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो ।’

महामन्त्री थापाले राजनीतिक दलहरू खुसी हुँदैमा नागरिक खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले नागरिकलाई परिणाम दिन सक्नुपर्ने बताए ।

उनले भने, ‘हामीले एउटा भ्रम राखेका छौँ कि जस्तो लागेको छ । हामी खुसी हुँदा कता कता देश नै खुसी भयो भन्ने भ्रम पो राखेका छौँ कि ? हामी खुसी हुनासाथ देशभरका सबै नागरिक आफैँ खुसी हुन्छन् भन्ने छ । हामीलाई मतदान गरेका पनि अटोमेटिकल्ली खुसी हुन्छन् कि भन्ने पनि मलाई लाग्दैन । हामीले खुसी बनाउन सक्छौँ कि सक्दैनौँ भन्नेसँग जोडिएको छ । किनकि सरकार बन्ने कुरा त पहिला पनि थियो । अहिलेको गठबन्धनको सरकार भन्ने हो भने त चुनावअघि पनि यही थियो ।’

महामन्त्री थापाले सरकारसँग पाँच वर्षमा नागरिकको भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताए । प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #gagan thapa, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट