Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन : सिङ्गो देश तात्यो


काठमाडौं, २९ चैत । निर्वाचन आयोगले यही वैशाख १० गते बारा–२, तनहुँ–१ र चितवन–२ गरी तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने भए पनि निर्वाचनको ज्वरोले पूरै देशलाई नै तताएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काँग्रेसका लोकप्रिय नेता गोविन्द भट्टराई, अर्थविद् स्वर्णिम वाग्ले, पूर्व प्रहरी उच्च अधिकारीहरु सर्वेन्द्र खनाल र रमेश खरेलजस्ता चर्चित राजनीतिज्ञ तथा व्यक्तित्वको उम्मेदवारीका कारणले पनि यो उपनिर्वाचनलाई मिनी जनमतको रुपमा हेरिएको छ । बारामा नेकपा एमालेका पूर्वमन्त्री पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुसवाहा तथा जिल्ला नेता नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने पनि बलियो उम्मेदवारको रुपमा रहेका छन् ।

चितवन–२ मा यसअघि जितेका रास्वपाका सभापति रवि लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेजीपछि उपनिर्वाचन हुँदैछ । तनहुँ–१ र बारा–२ मा यसअघि निर्वाचनमा जितेका सांसदहरु क्रमशः राष्ट्रपति र उपराष्ट्रपति भएका कारण उपनिर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसले तनहुँ–१ र चितवन–२ मा गठबन्धनको समर्थनमा उम्मेदवार दिएका छन् । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्तारुढ दलहरुले समर्थन गरेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले तीन वटै क्षेत्रमा आफ्नो उम्मेदवार नउठाएर समर्थन गरेको छ ।

तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई सबैभन्दा बलियो उम्मेदवारका रुपमा हेरिएको छ । उनको विपक्षमा प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र अर्थशास्त्री स्वर्णिम वाग्ले भिड्दैछन् । पूर्व आईजीपी खनाल एमालेका तर्फबाट उम्मेदवार बनेका छन् भने अर्थशास्त्री वाग्लेले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्नुअघि मात्र वाग्ले नेपाली कांग्रेसलाई त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । निष्ठा, विचारभन्दा पदलाई प्राथमिकता दिएको भन्दै वाग्लेको देशैभरिबाट तीब्र आलोचना गरिएको छ ।

मंसिरको आमनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार तीन सय ६१ मत ल्याएर विजयी भएका थिए भने नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशी स्वतन्त्र उम्मेदवारको रुपमा विद्रोह गरी छ हजार आठ सय ८६ मत ल्याएर तेस्रो स्थानमा रहे । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले छ हजार ४४ मत मात्र ल्याएर आफ्नो उपस्थिति देखाएको थिए ।

गोविन्दराज जोशी नेतृत्वको असन्तुष्ट पक्षलाई भित्र्याउनका लागि कांग्रेसले जिल्लामा जोशी र उनलाई समर्थन गर्ने अन्य सदस्यको पार्टीको साधारण सदस्यता निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोह गरेको भन्दै कांग्रेसले यसअघि अनुशासनात्मक कारबाही गरेको थियो । अब विद्रोहीको पुरानो पार्टीको हैसियत पनि पुनस्र्थापित भएको छ । तर, जोशीले विज्ञप्ति जारी गर्दै यो कदम अर्थहीन भएको बताएका छन् । यसको अर्थ नेपाली कांग्रेसका लागि असन्तुष्टहरूलाई मनाउन र पार्टीका आधिकारिक उम्मेदवार भट्टराईको पक्षमा मत जुटाउन सजिलो भने छैन । तर, यो पक्षले भट्टराईलाई समर्थन नगरेमा आफ्नो पक्षमा मत आउने एमाले उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेले आशा गरेका छन् । यो निर्वाचनमा जोशी फ्याक्टर पनि महत्वपूर्ण रुपमा मानिएको छ । जोशीलाई परेको मत एक ठाउँमा केन्द्रित हुने सम्भावना भने देखिदैंन । जोशीका छोरालाई एमालेको समर्थनमा स्थानीय तहमा उठाएका कारण जोशीसँग एमालेको भरोसा धेरै देखिन्छ ।

निर्वाचन आफ्नो पक्षमा ल्याउन सबै पक्ष निकै आक्रामक रणनीतिमा रहेको देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने उम्मेदवारी दर्ता गर्ने दिन वाग्लेको पक्षमा वातावरण बनाउन तनहुँ पुगेका थिए भने भट्टराईलाई समर्थन गर्न कांग्रेस महामन्त्री गगन थापा पुगेका छन् । यो क्षेत्रमा माओवादी केन्द्रको पनि बलियो उपस्थिति रहेको र माओवादी केन्द्रले गोविन्द भट्टराईलाई समर्थन गरिसकेका कारणले भट्टराईको जीतको सम्भावना बढी रहेको देखिएको छ ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ४९ हजार दुई सय ६४ मत ल्याएर नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई १४ हजार नौ सय ८३ मत ल्याएर पराजीत गरेका थिए । नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार छ सय ४७ मत ल्याएर तेस्रो भए । कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले तीनमध्ये दुई ठाउँमा निर्वाचन जितेको थियो । यसपटक लामिछाने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसँग प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसको एउटा असन्तुष्ट पक्ष, जगन्नाथ पौडेल, ले रवि लामिछानेलाई खुलेर समर्थन दिएको छ ।

तर, मंसिरको निर्वाचनमा वागी बनेका नेपाली काँग्रेसका केही नेताहरुले चितवन–२ को आगामी उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका छन् । नेता दिनेश कोइराला, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठ र मीना खरेलले सार्वजनिक विज्ञप्ति जारी गर्दै श्रेष्ठका लागि मतदान गर्न अपिल जारी गरेका छन् ।

यस्तै बारा–२ मा उपेन्द्र यादव जनता पार्टीका शिवचन्द्र कुसवाहा र एमालेका पुरुषोत्तम पौडेलसँग प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेललाई निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ ।

जनता समाजवादी पार्टीका रामसहयप्रसाद यादवले उपराष्ट्रपतिमा पदभार ग्रहण गरेपछि सांसदको सिट खाली भएको हो । गत वर्ष मंसिरमा भएको निर्वाचनमा रामसहायले नेकपा एमालेको समर्थनमा १३ हजार आठ सय २२ मत ल्याएर विजयी भएका थिए । माओवादी केन्द्रका तत्कालीन उम्मेदवार कुसवाहा १३ हजार चार सय ६८ मत ल्याएर दोस्रो स्थानमा रहे । यसपटक उनी जनमत पार्टीमा प्रवेश गरेर निर्वाचनमा खडा भएका छन् ।

यो क्षेत्रमा जातीय राजनीतिले केही भूमिका खेल्ने सम्भावना पनि छ । उपेन्द्र यादवले यादव र मुस्लिम मत बढी लिने र कुसवाहले गैर यादव मतलाई आकर्षित गर्ने प्रयास गरेका छन् । नेपाली कांग्रेसको यो क्षेत्रमा बलियो उपस्थिति छ । उपेन्द्र यादवलाई समर्थन गरेका कारण कांग्रेसको एउटा हिस्सा असन्तुष्ट छ । यो पक्षलाई फकाउन कांग्रेस निकै सक्रिय छ । माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीको पनि बलियो उपस्थितिका कारण यो क्षेत्रमा उपेन्द्र यादवको जित्ने सम्भावना निकै बलियो देखिन्छ । जनता समाजवादी पार्टी आफैं पनि निकै बलियो छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट