Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

मङ्गलवारदेखि सुरु भएको आठौँ ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले नीतिगत र व्यावहारिक रूपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताए । आर्थिक रूपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यकता महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

उनले भने, ‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौँ । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौँ । देशका सबै नागरिकलाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले प्रसारण र वितरण लाइन विस्तार गर्न तथा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गरे । उनले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले धेरै बिजुली खपत गर्न सक्ने क्षेत्रको प्रवर्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट