Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसद् राजसंस्थाको पैरवी गर्ने थलो होइन : लेखनाथ दाहाल


काठमाण्डौं, ६ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन् । उनले राजसंस्थाले दुई सय ४० वर्षसम्म नागरिकलाई प्रताडित गरेको भन्दै नागरिकलाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलो संसद् नभएको बताए । उनले संसद् विज्ञापन एजेन्सी पनि नभएको बताए ।

उनले भने, ‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र बहस भएका छन् । ती बहसहरू अलि अमर्यादित छन्, अशिष्ट छन्, अराजक छन् । मैले पटक–पटक उठाउँदै आएको छु । कमसेकम संविधानको जगमा उभिएर हामीले बहस गर्नुपर्छ, छलफल गर्नुपर्छ । संसद् विज्ञापन एजेन्सी संस्था होइन । कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट दुई सय ४० वर्षसम्म नागरिकलाई प्रताडित गर्ने संस्थाहरूको जबरजस्ती पैरवी गर्ने थलोको रूपमा पनि संसद्लाई नागरिकले पत्याउँदैनन् र मान्दैनन् । संसदमा विचारमा केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा बहसहरूको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद दाहालले देशमा अर्बौँ रुपैयाँको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताए । उनले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल कारखाना छिटो भन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरे ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot, #rajan dahal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट