Techie IT
  • १३ मंसीर २०८०, बुधबार
Jhilko

लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो


काठमाडौं। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसलाई नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमालेका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार ढलेको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको छ ।

एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि चैत १२ मै कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले सात दलको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको थिए ।

चौधरीलाई माओवादी, नाउपा, जनमत, लोसपा, जसपा, एकीकृत समाजवादी र २ जना स्वतन्त्र सांसद गरी ५७ जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

 


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट