Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने निर्णय खारेज गर्न एमालेको माग


काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन्।

उनले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्वीकार्य नहुने बताए।

सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसविरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो। उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाए।
‘आज माओवादीका अयोग्य लडाकुको नाममा करिब ४८ सयभन्दा बढी व्यक्तिहरुलाई राज्यकोषबाट, ढुकुटीबाट २र२ लाख नगद निकालेर बाँडने खालको चलखेल हुँदैछ। र, कार्यविधि बनाएर पैसा बाँडिदै छ भन्ने सुनिएको छ,’ उनले भने, ‘राज्यसत्ताबाट यस्तो प्रकारको दोहन हुँदैछ कि आज देश दिनदहाडै लुटिएको छ। त्यस्तो कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन। र, यो निर्णय तत्काल खारेज होस् भन्ने कुरा हामीले माग गरिरहेका छौँ।’

प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्तापक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुढा प्रहार गर्ने कोसिस गरिएको आरोप लगाए।

 


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #amale, #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट