Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमाले सांसद कोइरीको विषयमा संसदमा चर्काचर्की, बैठक ३० मिनेटका लागि स्थगित


काठमाडौं । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा नेकपा एमाले सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।

बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा उपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए। सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेका थिए ।

विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हँसाइको विषय भएको बताए । उनले कोइरी बिरामी भएर अनुपस्थित भएका भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गरे। संसद्ले झुटो कुरा गर्न नहुने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएका बताए । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताए ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताए । उनले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताए । उनले कोइरीलाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्न नहुने र फरार अभियुक्तकै रूपमा लिनुपर्ने बताए ।

सभामुख घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफूकहाँ नआएको बताए । आफूले प्राप्त गरेको पत्रअनुसार बिरामी भएको सूचना सुनाइएको उनको भनाइ छ ।

सभामुखले आउँदा दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानुन बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरूलाई पटक–पटक संसद्को अवरोध खोल्न आग्रह गरेका थिए । सांसदहरू सभामुखको कुरा मान्न तयार नभएपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट