Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यस्तो छ बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र इन्द्रजित राईले दिएको बयान…


काठमाडौं, ११ जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू कोही अरूको थप्लोमा दोष थोपर्दै छन् भने कोही आरोपबाट पन्छिन, केही नजाने जस्तो गरी बयान दिइरहेका छन्। प्रहरी अनुन्धान र दिएका बयानले यस्तै देखाउँछ। अनुसन्धानमा तानिएका सरकारका पूर्वमन्त्रीदेखि उच्च तहका कर्मचारीहरू यो प्रकरणबाट कसरी शुद्ध भइन्छ भनेर बयानमा कुरा चपाइचपाइ बोलिरहेको अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकारी बताउँछन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईले दिएका बयान यस्ता छन्।

बालकृष्ण खाँण : टेकबहादुर पाण्डेलाई नेपाल सरकारको सचिव भएपछि चिनेको हुँ। नरेन्द्र केसी मेरो निजी सचिव थिए। टोपबहादुर रायमाझीसँग चिनजान छ। भुटानी शरणार्थीसम्बन्धी स्थायी र दीर्घकालीन समस्याको समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनउपर छलफल भएको हो। निर्णयहरू कार्यान्वयन गर्न मन्त्रिपरिषद् समक्ष पेस भएको हो।

कागजातहरू के–के पेस भए मलाई सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीलाई कार्यक्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ। तसर्थ मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ।

एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्दैन। भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाइ तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन। गैरभुटानी शरणार्थी बनाइ
अमेरिका पठाउने कार्य ठीक होइन। मैले सो कार्य गर्न सोच्न पनि सक्दिनँ।

टोपबहादुर रायमाझी : केशव दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो। सानु भण्डारीसँग पनि मेरो फोन सम्पर्क भई कुराकानी भएको हुन सक्छ। तर, भुटानी शरणार्थीको विषयमा कहिले कुराकानी भएको थिएन। टेक नारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो। इन्द्रजित राई पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ।

मैले इन्द्रजितलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। इन्द्रजित राई र सानु भण्डारीबीचको लेनदेन विषयहरूमा उहाँहरूले जान्ने कुरा हो। मलाई जानकारी छैन। मैले कुनै रकम लिएको छैन। मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकाले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ। कदम रोकिएको मात्र हो। आफैं सम्पर्कमा आउने थिएँ।

डा. इन्द्रजित राई : गृह मन्त्रालयमा सल्लाहकार पदमा कार्यरत रहँदा सयौं मानिसको दिनमा फोन आउने गरेकोमा को–कोसँग कुरा हुन्थ्यो मलाई याद भएन। सानु भण्डारीसँग पनि मेरो फोन सम्पर्क भई कुराकानी भएको हुनसक्छ। तर, भुटानी शरणार्थीको विषयका कहिले कुराकानी भएको थिएन। केशवप्रसाद दुलाल, सानु भण्डारीबीच आर्थिक लेनदेनको विषयमा कहिले झगडा भएको थिएन र छैन। निजहरू मेरो अफिसमा एक÷दुईपटक आउँदा सामान्य भेटघाट र विभिन्न विषयमा छलफल हुने गरेको थियो।


क्याटेगोरी : राजनीति
ट्याग : #balkrishna, #hot, #top bahadur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट