Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान


काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’‍भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल आज दिउँसो भारत प्रस्थान गरेको हो।

समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आज प्रचण्ड चार दिने औपचारिक भारत भ्रमणमा निस्किएका हुन्। उनीहरु नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रधानमन्त्री प्रचण्डलाई बिदाई गर्न विमानस्थलमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री लगायत उच्च अधिकारीहरु पुगेका थिए।

प्रचण्ड नेतृत्वको भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल टोलीमा रहेका छन्।

यसैगरी प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिव गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिवोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल, निजी चिकित्सक युवराज शर्मासँगै चार सुरक्षा अधिकारी छन्।

मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्रसचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृहसचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल पनि भ्रमण टोलीमा छन्। सहसचिव र उपसचिवहरू सहभागी छन्।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाललगायत छन्।

निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीलगायतका प्रतिनिधि संलग्न रहने भएका छन्। प्रधानमन्त्रीसहितको टोलीलाई दिल्लीको चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा राख्ने तय भएको छ।

प्रधानमन्त्री दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीस्थित हैदराबाद हाउसमा भेटघाट हुने कार्यतालिका छ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशको उज्जैन र इन्दोर जाने कार्यक्रम छ। त्यहाँ उनले फोहोर व्यवस्थापनसम्बन्धी प्रोजेक्ट हेर्नेछन्। त्यहाँबाट २० गते दिल्ली फर्केपछि उनी नेपाल फर्कनेछन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट