प्रधानमन्त्री प्रचण्डलाई भारतको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत
![](https://archive.jhilko.com/wp-content/uploads/2023/05/prachanda-20.jpg)
नयाँ दिल्ली, १७ जेठ । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।
लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमणबारे राजदूत शंकर शर्माले पनि औपचारिक जानकारी दिएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेको भन्दै ट्विटरमार्फत् जानकारी दिएका छन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १ः२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत आएका हुन् । यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए ।
बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda
प्रतिक्रिया