Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कंदै, भारत भ्रमण पूर्ण रुपमा सफल भएको भनाइ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारत गएका प्रधानमन्त्री आज बेलुकी फर्कने भएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताएका छन् । भारतमा पत्रकारसँगको कुराकानीमा उनले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको हो उनको भनाइ छ ।

नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उनले बताए । १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेको उनले बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको बिजुली बङ्गलादेश लैजाने विषयमा समेतसहमति भएको छ । बङ्गलादेशले तत्कालका लागि ५० मेगावाट बिजुली लैजाने भएको छ । त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्छ । प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र बङ्गलादेशबीच अब त्रिपक्षीय सहमति नै भएकोे भनेर मान्न सकिने बताए । प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेक जसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको बताए । यस्तै, नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान नगर्दासम्म दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्न नसक्ने र सधैँ यस्तै जटिलता रहिरहने भएकाले पनि यसलाई समाधान गर्न भारत तयार भएको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदीले नै समस्या समाधानमा लागौँ भनेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई पनि सकारात्मकरूपमा लिन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले स्वच्छ ऊर्जाको अभियानमा लागेको भारतले नेपालको बिजुली आयात गर्नेतर्फ केन्द्रीत हुनु र त्यसका लागि दीर्घकालीनरूपमा अगाडि बढ्न सहमत हुनु पनि आफैँमा महत्वपूर्ण रहेको बताए । नेपालको बिजुलीको बजार छैन भनेर अब कोही पनि विदेशी लगानीकर्ताले लगानीका लागि डर मान्नुपर्ने अवस्थाको अन्त्य भएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै, सम्पर्क सञ्जालको विस्तार, रेलमार्ग, धार्मिक पर्यटनको अभिवृद्धि तथा विद्युतीय भुक्तानीलगायतका विषयमा समेत महत्वपूर्ण सहमति भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण देशको सर्वपक्षीय हितमा नै केन्द्रीत रहेको बताए ।

दिल्लीमा रहेको नेपाली दूतावासले पनि प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा महत्वपूर्ण सम्झौता भएको उल्लेख गरेको छ । नेपाली दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेलवे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रको समीक्षा भएको हो ।

समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट